जलविद्युत परियोजनाको सिएसआर रकम परिचालनबारे उठेको प्रश्नमा सिरिजङ्गाले वृहत्त छलफल चलाउँदै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २ । जलविद्युत परियोजनाको सामाजिक उत्तर दायित्व अन्तरगतको रकम हिनामिना सम्वन्धमा परेका उजुरी र उठेका सवालबारे छलफल गर्न ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले बुधवारका लागि वृहत्त छलफल बोलाएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बुधवार पालिकाको सभाहलमा सरोकारवालाको वृहत्त छलफल आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार काबेली हाईड्रो पावर कम्पनी लिमिटेड काठमाडौंद्धारा प्रर्वद्धित २१.९२ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माणको क्रममा कम्पनीले खर्च गर्नुपर्ने सामाजिक उत्तर दायित्व रकमबारे बिभिन्न निकायमा परेको उजुरी र सवालका बारेमा छलफल गरी निश्कर्ष निकालिने छ । काबेली हाईड्रो पावर कम्पनी लिमिटेडले सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङमा निर्माण गरेको जलविद्युत परियोजनाको सामाजिक उत्तर दायित्व शीर्षकको रकमबारे सत्य तथ्य विवरण संकलन गरी पठाउन माग भए आए बमोजिम छलफल गर्न लागिएको पालिकाले जनाएको छ ।
छलफलमा उक्त सामाजिक उत्तर दायित्व वापतको रकम के कसरी खर्च भएको हो ? के के गर्नुपर्ने हो ? के कति काम भयो ? खर्च कसरी भयो ? कुन कुन क्षेत्रमा लगानी भयो ? लगानी भएको रकम प्रभावित क्षेत्रका बासिन्दासंग पुग्न सक्यो की सकेन भन्ने सवाल मुख्य रुपमा उठ्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेले बताउनुभयो । उहाँका अनुसार पालिकाले यसअघि नै उक्त सामाजिक उत्तर दायित्व वापतको रकम खर्च हुँदाको अवस्था बारे प्रभावित क्षेत्रका स्थानीयलाई समेत सहभागी गराई सार्वजनिक सुनुवाई गर्न यसअघि नै पालिकाको वडा नं ५ लाई पत्राचार समेत गरेको थियो । जलविद्युत परियोजनाले परियोजना प्रभावित क्षेत्रका जनताको हितलाई ध्यानमा राखेर आयोजनाले सामाजिक,शिक्षा,स्वास्थ्य,संस्कृति,सडक,बिद्यालय र अन्य सामाजिक हितका पूर्वाधारमा समेत खर्च गर्ने गरेका छन् ।