फागुन २१ को निर्वाचन: ताप्लेजुङमा ५ मतदानस्थल थप र दुई मतदानस्थल सार्न सिफारिस
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङमा ५ मतदान स्थल थप गर्न सिफारिस गरिएको छ ।
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन जिल्ला स्तरीय समितिको बैठकले ५ मतदानस्थल थप तथा दुई मतदान स्थललाई साविक भन्दा केहि वरपर सार्नेगरी निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपिन) दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार मैवाखोला गाउँपालिकाको वडा नं ६ फाकुम्बाको असाङलुङ आधारभूत बिद्यालय साम्तुङमा १ सय ३१ मतदाता रहने गरी एक,फक्ताङलुङ गाउँपालिका वडा नं ६ स्थित महेन्द्र आधारभूत बिद्यालय भाङवारीमा ५ सय ३० मतदाता रहने गरी एक र सोहि वडाको लुङथुङ आधारभूत बिद्यालय स्कुलडाँडामा ३ सय ६२ मतदाता हुनेगरी एक मतदान स्थल थप गर्न सिफारिस गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको वडा नं २ स्थित आर्दश मावि खेजेनिममा ५ सय १३ मतदाता हुनेगरी एक तथा मिक्वाखोला गाउँपालिका वडा नं ४ स्थित जनरात्री आधारभूत बिद्यालय दलैंचामा १ सय ३० मतदाता हुनेगरी एक मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहने समितिको बैठकले मतदान स्थल थप सहित दुई मतदान स्थल साविक भन्दा केहि वरपर सार्नेगरी निर्णयार्थ आयोगमा सिफारिस गरेको छ । सिफारिस गरिएका मतदानस्थलहरुमा फुङलिङ नगरपालिका वडा नं २ स्थित याङलीजुङ आधारभूत बिद्यालयमा रहेको मतदान स्थललाई २ नं वडा कार्यालयमा र फुङलिङ नगरपालिका वडा नं ५ स्थित सामुदायिक भवनमा रहेको मतदान स्थललाई ताप्लेजुङ उद्योग बाणिज्य संघको भवनमा सार्नेगरी आयोगमा सिफारिस गरिएको दुलालले बताउनुभयो । सामुदायिक भवन अहिले पुर्ननिर्माणको क्रममा भत्काईएपछि बाणिज्य संघको भवनतर्फ केन्द्रित गरिएको हो । अहिले ताप्लेजुङमा ७५ मतदानस्थल र १ सय २३ मतदान केन्द्र कायम रहेका छन् । ताप्लेजुङबाट सिफारिस भएका ५ मतदानस्थल कायम गर्न आयोगले निर्णय गरेमा ताप्लेजुङमा मतदान स्थलको संख्या ८० र मतदान केन्द्र १ सय २८ पुग्ने छ ।
ताप्लेजुङमा थपिए साढे १४ सय मतदाता
गत असोज १० गते देखि मंसिर १ गतेसम्ममा ताप्लेजुङमा १ हजार ४ सय ५० मतदाता थपिएका छन् । निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार ७ सय ९८ पुरुष र ६ सय ५२ महिला मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । अधिकाँस मतदानका लागि योग्य उमेर समूहका रहेको समेत निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली सरुवाका लागि ३ सय ४३ जनाले आबेदन दिएका छन् । आबेदन दिनेमध्ये सबैभन्दा ठूलो संख्या अन्तर जिल्ला सरुवा माग्नेको रहेपनि जिल्ला भित्र सरुवा माग्ने र जिल्ला बाहिर सरुवा माग्नेको संख्या एकिन गर्न बाँकी रहेको समेत दुलालले जानकारी दिनुभयो ।