ताप्लेजुङमा मतदान स्थल पुनरावलोकनको सिफारिस कात्तिक मसान्त अगावै,सभा जुलुसका लागि अनुमति अनिवार्य

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १६ । मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन ताप्लेजुङ जिल्ला स्तरीय समितिको बैठकले कात्तिक २७ वा २८ गते बैठक बसी मतदानस्थल तथा केन्द्र थपघट वा गाभ्ने बिषयमा निर्वाचन आयोगमा सिफारिस गर्ने भएको छ ।

समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँको अध्यक्षतामा बसेको बैठकले मतदानस्थल तथा केन्द्र थपका लागि प्राप्त हुन आएका वडागत सिफारिसहरुको प्रारम्भिक अध्ययन गर्दै मतदानस्थल तथा केन्द्र थपका लागि आयोगले तयार परेको अनुसूची अनुसारका विवरण पूर्ण बनाई सिफारिस गर्न वडा स्तरीय समितिलाई आग्रह गर्ने निर्णय गरेको हो । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपिन) दुलालका अनुसार हालसम्म मैवाखोला गाउँपालिकाको वडा नं ६,फक्ताङलुङ गाउँपालिकाको वडा नं २ र ६,आठराई त्रिबेणी गाउँपालिकाको वडा नं २ र मिक्वाखोला गाउँपालिकाको वडा नं ४ बाट सिफारिस प्राप्त हुन आएका छन् । प्राप्त हुन आएका सिफारिसहरु मतदानस्थल तथा केन्द्र थपघट वा गाभ्ने प्रकृयाका लागि निर्वाचन आयोगले तयार गरेको अनुसूची अनुसारको पूर्ण विवरणमा आधारित भएर आएका छन् या छैनन् भन्ने बारेमा अध्ययन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्राप्त हुन आएका सिफारिसहरुका बारेमा जानकारी दिने तथा अन्य सिफारिसकर्ताहरुलाई समेत कात्तिक तेस्रो साताभित्र अनुसूची अनुसारको पूर्ण विवरण सहितको सिफारिस पठाउन आग्रह गर्ने निर्णय आइतवारको बैठकले गरेको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सेढाईँले जानकारी दिनुभयो ।

बैठकमा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले वडा नं ५ पापुङमा समेत मतदानस्थल थप हुनुपर्ने अवस्थाको विवरण पेश गर्नुभयो । सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले तेल्लोक माविमा रहेको मतदानस्थललाई करिव ५ सय मिटर माथि रहेको तेल्लोक माविको खेलमैदानमा स्थानान्तरण गर्न प्रस्ताव गर्नुभयो । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा(विकास)ले भौगौलिक कठिनाई र दूरीका हिसावले वडा नं ६ मा मतदानस्थल थप गर्नुपर्ने आशय राख्नुभयो । मैवाखोला गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले मतदानका लागि करिव ५ घण्टा हिड्नुपर्ने फाकुम्बा सामतुङवासीको समस्यालाई हल गर्न मतदानस्थल थप गर्नुपर्ने स्थानीय सबै राजनीतिक दल समेतको सिफारिस रहेको दलिल पेश गर्नुभयो ।

फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपानेले याङलिजुङ आधारभूत बिद्यालयमा रहेको मतदानस्थल अहिले वडा कार्यालय रहेको स्थलमा सार्ने बारे आफुहरुले सरोकारवालाको छलफल चलाएर सिफारिस गरेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमा जिल्ला तहमा क्रियाशील राजनीतिक दल प्रमुख तथा प्रतिनिधि,जिल्ला समन्वय अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन अधिकारी सदस्य रहने छन् । समितिमा सम्बन्धित स्थानीय तहका प्रमुखलाई आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाउन सकिने व्यवस्था छ । मतदानस्थल हटाउने, थप्ने, सार्ने वा गाभ्ने कार्यको सिफारिस वडा समितिबाट प्राप्त हुँदा सारिएको मतदानस्थलमा रहने मतदाता नामावली छुट्याई एकिन तथा अद्यावधिक सहितको सिफारिस गर्ने जिम्मेवारी समेत वडा समितिलाई रहने छ । निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार अहिले ताप्लेजुङमा ७५ मतदानस्थल र १२३ मतदान केन्द्र कायम रहेका छन् ।
सभा समारोहका लागि प्रशासनको अनुमति अनिवार्य
प्रमुख जिल्ला अधिकारी सेढाईँले सभा,सम्मेलन,¥याली जस्ता कार्यक्रम गर्दा प्रशासनको अनुमति अनिवार्य गरिएकोतर्फ राजनीतिक दल र सरोकारवालालाई जानकारी गराएका छन् । उनले शान्तिपूर्ण सभा,सम्मेलन,¥याली,जुलुस निकाल्ने पाइने तर प्रशासनको अनुमति अनिवार्य रहनुपर्ने बताउनुभयो । अनुमति लिने क्रममा सञ्चालकको पूर्ण विवरण सहितका सबै फारम भरी तोकिएको स्थानमा शान्तिपूर्ण तवरले कार्यक्रम सञ्चालन गर्नुपर्ने गृह मन्त्रालयले पठाएको परिपत्र वाचन गर्दै प्रजिअ सेढाईँले बताउनुभयो ।

राजनीतिक कार्यक्रम सञ्चालनका लागि खुल्ला मञ्चको आवश्यकताको बिषयका बारेमा कुरा उठेपछि बोलेको फुङलिङ नगरप्रमुख अमिर मादेनले यही टड्कारो आवश्यकतालाई मध्यनजर गरेर आफुले सार्वजनिक खुल्ला मञ्च खरिदको प्रकृया अघि बढाएपनि अनेकन् व्यवधान व्यर्होनु परेको भन्दै दुःख प्रकट गर्नुभयो । आइतवारको बैठकमा नगरप्रमुख मादेन,पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाँवीर हाङगाम(डम्बर),सिरिजङ्गा गाउँपालिका अध्यक्ष चौहान,मिक्वाखोला गाउँपालिका अध्यक्ष कार्की,जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
२४४ को नाम दर्ता
मतदाता नामावलीमा नाम दर्ता खुलेको असोज १० गतेबाट आईतवार अपरान्हसम्ममा ताप्लेजुङमा २ सय ४४ जनाले नाम दर्ता गराएका छन् । निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार नाम दर्ता गर्नेमा १ सय ३४ पुरुष र १ सय १० महिला रहेका छन् । १९ जनाले आफ्नो नाममा भएको त्रुटी सच्याएका छन् । ८९ जनाले ठाउँ सारी गरेकोमा ११ जिल्ला भित्रकै एक स्थानबाट अर्को स्थानमा सार्ने रहेका छन् भने बाँकी ७८ जनाले जिल्ला बाहिर नाम सारी गरेका छन् ।

Similar Posts