उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी सम्मान सहित ताप्लेजुङमा सशस्त्र प्रहरीको २४ औं स्थापना दिवस मनाईयो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ९ । उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मानसहितका कार्यक्रम गरेर सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले बुधवार २४ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा सशस्त्र अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण तथा बिश्रामलय उद्घाटन सहितका कार्यक्रम समेत भए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले देश,काल र परिस्थिति अनुसार इमान्दार र कर्तव्यनिष्ठ भई मुलुक र जनताको सेवामा प्रतिबद्ध ढंगले लाग्न सशस्त्र प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो । सशस्त्र प्रहरी वल मुलुकको आवश्यकता अनुरुप जन्मिएको संगठन भएकोले संगठनले दिएको जिम्मेवारी प्रतिबद्ध ढंगले पूरा गर्नु संगठन सदस्यहरुको कर्तव्य हुने प्रजिअ शर्माको भनाई थियो । २४ औं स्थापना दिवसको अवसर पारेर गुल्मले उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान समेत गरेको छ । गुल्मले सूचना संकलन तथा व्यवस्थापन,प्रभावकारी दैनिक जिम्मेवारी निर्वाह,काफ्लेपाटीमा सुरक्षा वेस स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीलाई सम्मान गरिएको सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नायव निरीक्षक जीवन पतङ्वालाई प्रभावकारी सूचना समन्वय,विपद् व्यवस्थापन,बाह्य समन्वयमार्फत भौतिक निर्माणमा प्रभावकारी भूमिका निर्वाह र प्रभावकारी दैनिक कार्य सञ्चालनमा महत्वपूर्ण योगदान गरेवापत सम्मानित गरिएको छ । सशस्त्र नायव निरीक्षक कृष्णदेव यादव आफुलाई प्राप्त जिम्मेवारी कर्तव्यनिष्ठ,इमान्दार र उच्च स्तरको व्यवसायिकता प्रदर्शन गरी निर्वाह गर्न सक्ने,विपद् उद्धार तथा सूचना संकलन सहितका कार्यमा उत्कृष्ट कार्य गर्न सक्ने व्यक्तिको रुपमा सम्मानित हुनु भएको छ । सशस्त्र प्रहरी हवल्दार डिकबहादुर तामाङ र सशस्त्र प्रहरी परिचर दिनेश थापा मगर आफ्नो जिम्मेवारी त्रुटीरहित तवरले सम्पादन गरेवापत सम्मानित भए । सशस्त्र प्रहरी जवान आदिम गुरुङ,रामकुमार खंग र वकिल शाह संगठनले दिएको जिम्मेवारी कर्तव्यनिष्ठ,इमान्दार र उच्च स्तरको व्यवसायिकता प्रदर्शन गरी पूरा गरेवापत सम्मानित हुनु भएको छ ।

सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्मले चालू आर्थिक बर्षको बिभिन्न महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई‘महिनाको उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी’को रुपमा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी जवान अमरेशकुमार यादव,सशस्त्र प्रहरी सहायक हवल्दार मिनाकुमारी थारु,सशस्त्र प्रहरी हवल्दार उमेशकुमार माझी र सशस्त्र प्रहरी जवान झनक बानियाँ रहनु भएको छ । गुल्मका सशस्त्र प्रहरी निरीक्षक शंकर दाहालका अनुसार यादव असोज महिनाको,थारु कात्तिक महिनाको,माझी मंसिर महिनाको र बानियाँ पुस महिनाको उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी’को रुपमा सम्मानित हुनु भएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक दाहालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट २४ औं स्थापना दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश वाचन गर्नु भएको थियो । स्थापना दिवसकै अवसरमा फुङलिङ नगरपालिका वडा नं २ द्धारा गुल्म परिसर क्षेत्रभित्र निर्मित बिश्रामलय उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी शर्मा र फुनपा २ का वडाध्यक्ष मोहन न्यौपानेले बिश्रामलय उद्घाटन गर्नु भएको छ । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक सञ्जय मण्डल,दुर्गादल गुल्मका गुल्मपति सेनानी बिक्रम खड्का,जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावल सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts