चालु आवको फागुनसम्ममा ताप्लेजुङबाट ५ थान वैवाहिक अंगीकृत नागरिकता जारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ४ । चालु आर्थिक बर्ष २०८२।८३ को फागुन महिना सम्ममा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट ५ थान वैवाहिक अंगीकृत नागरिकता जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार फागुन महिनामा १ सहित ५ थान वैवाहिक अंगीकृत नागरिकता जारी भएको हो । चालु आवको यो अवधिसम्ममा गैर आवासीय नेपाली नागरिकता भने जारी भएको छैन । फागुन महिनासम्ममा १ हजार ९४२ थान वंशजका आधारमा दिइने नागरिकता जारी भएको छ । १ हजार ६०८ थान नागरिकताको प्रतिलिपि जारी भएको प्रशासन कार्यालयले जनाएको छ । द्रुत र साधारण गरी १ हजार ३५८ थान राहदानीको सिफारिस हुँदा १ हजार २०९ थान राहदानी बितरण गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।
चालु आवको फागुन मसान्तसम्ममा ५ हजार ६७७ जनाले राष्ट्रिय परिचपत्रमा आफ्नो विवरण भरेका छन् भने ४ सय १९ जनालाई राष्ट्रिय परिचपत्र वितरण गरिएको छ । १ हजार २१२ जनाले राष्ट्रिय परिचपत्रको रुजु फारम हराई खोजीका लागि आबेदन दिएका प्रशासन कार्यालयले जनाएको छ । १ सय ९८ जनाले राष्ट्रिय परिचपत्रको विवरण सच्याएका छन् । चालु आवको फागुन मसान्तसम्ममा ४७ जनालाई नावालक परिचयपत्र बितरण गरिएको छ ।
प्रशासन कार्यालयका अनुसार फागुन महिनामा प्रशासन कार्यालयले १ सय १९ जनाको निःशुल्क रुपमा राहदानीको अनलाइन फारम भरिदिएको छ । २ सय ५२ जनाले कार्यालय प्रयोजनमा प्रयोग हुने निबेदन तथा आवश्यक कागजातको निःशुल्क सेवा लिएका छन् । चालु आवको फागुन मसान्तसम्ममा भ्रष्टाचारसंग सम्वन्धित कुनैपनि उजुरी वा मुद्दा प्रशासन कार्यालयमा दर्ता नभएको समेत प्रशासन कार्यालयले जनाएको छ ।