खोलाले बगाएर मृत भेटिएका दुई बालबालिकाका परिवारलाई मैवाखोलाले दियो जनही ५० हजार रुपैयाँ राहत

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले खोलाले बगाएर मृत्यु भएका दुई बालबालिकाका परिवारलाई जनही नगद ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ ।
मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार गत असोज १८ गते मैवाखोलाले बगाएर मृत्यु भएका पालिकाको वडा नं २ खानीका १२ बर्षिय ऐतमाया शेर्पा र ११ बर्षिय सन्देश बराइलीको परिवारलाई उक्त राहत रकम दिईएको छ ।
पालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम ऐतमाया र सन्देशका परिवारलाई हस्तान्तरण गरिएको पालिकाले जनाएको छ । खानीटोलका रिञ्जे शेर्पाको छोरी ऐतमाया र सञ्चहाङ बराइलीका छोरा सन्देश मैवाखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएकोमा खोजतलासका क्रममा उनीहरु दुबैजना मृत भेटिएका थिए ।
यता, गाउँपालिकाले मृगौला पीडित पालिकाको वडा नं ४ का किपादोर्ची शेर्पालाई उपचारका लागि ५० हजार रुपैयाँ समेत सहयोग उपलब्ध गराएको छ । अध्यक्ष स्वास्थ्य सहयोग कोषमार्फत उक्त रकम उपलब्ध गराईएको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । पालिकाले अध्यक्ष स्वास्थ्य सहयोग कोषमार्फत यस्ता रोगीहरुलाई सहयोग रकम दिदैं आएको छ ।