| |

झापाको न्यू स्टार क्लबले जित्यो माछापोखरी गोल्डकप उपाधि

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेमा सम्पन्न आमन्त्रित दोस्रो माछापोखरी हिटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको न्यू स्टार क्लबले जितेको छ । गतवर्षको विजतासमेत रहेको मरिक एफसी धरानलाई १-० गोलअन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।
बिहीबार भएको फाइनल खेलमा न्यू स्टारको जितका लागि खेलको ७५ औं मिनेटमा निश्चल बस्नेतले गोल गर्नुभएको थियो । उपाधि जितसँगै झापाले तीन लाख रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको धरान सुनसरीले एक लाख ६० हजार रुपियाँ नगद पुरस्कारका साथ पदक र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा स्थानीय दुईसहित आठ टोलीको सहभागिता रहेको थियो । स्थानीयमा आयोजक माछापोखरी हिटी क्लब र लालिमा क्लब रहेका थिए । यस्तै तेह्रथुमको सम्दु फुटबल क्लब, पाँचथरको वाईवाई क्लब फिदिम, संखुवासभा जिल्ला फुटबल संघ र धनकुटाको डाँडाबजार फुटबल क्लबको सहभागिता थियो ।
प्रतियोगिता चाँगे माध्यमिक विद्यालयको खेल मैदानमा फागुन २५ गते आइतबारदेखि सुरु भएको थियो । यता विजेतालाई आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु, उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङ लगायतले ट्रफी र पुरस्कार वितरण गर्नुभएको आयोजक क्लबका सचिव घनु गौतमले जानकारी दिनुभयो ।

Similar Posts