करिव साढे तीनमहिना पछि सुकेटारमा बस्यो जहाज
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १२ । ताप्लेजुङको सुकेटार बिमानस्थलमा करिव साढे तीनमहिना पछि जहाजले उडान भरेको छ ।
नेपाल वायु सेवा निगम ताप्लेजुङ शाखाका प्रवन्धक नारायणकुमार कार्कीले सोमवार नेपाल एअरलाइन्सको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गरेको जानकारी दिए । कार्कीका अनुसार सुकेटार बिमानस्थलमा गत जेठ २२ गते काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भरेपछि फेरि उडान हुन सकेको थिएन ।
सोमवार काठमाडौंबाट १३ यात्रु सुकेटार ओर्लिए भने ५ जना यात्रु ताप्लेजुङबाट काठमाडौं प्रस्थान गरेका कार्कीले जानकारी दिनुभयो । काठमाडौं देखि ताप्लेजुङसम्मको यात्राका लागि जनही १२ हजार २ सय ७० रुपैयाँ तथा ताप्लेजुङ देखि काठमाडौंका लागि १२ हजार ७० रुपैयाँ भाडादर निर्धारण गरिएको नेपाल एअरलाइन्सले जनाएको छ ।
आउँदो सातादेखि भने सातामा तीनदिन क्रमशःसोमवार,बिहीबार र शनिवारका लागि उडान हुनेगरी तालिका बनेको समेत कार्कीले जानकारी दिनुभयो ।