आठराई त्रिबेणीमा शिक्षकहरुकाबिच हाजिरी जवाफ

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १ । बिद्यार्थी पढाउने शिक्षकहरुकाबिच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेर ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले नयाँ अभ्यास सुरु गरेको छ ।
आठराई त्रिबेणी गाउँपालिकामा ३३ वटा सामुदायिक बिद्यालय रहेका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेशकुमार पुरीका अनुसार तहगत सामुदायिक बिद्यालयका शिक्षकहरुबिच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन भएको हो । हाजिरी जवाफमा सोधिने अधिकाँस प्रश्नहरु आफुले पढाउने पाठ्यक्रममा आधारित छन् ।
पालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ राई,प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता,पालिकाका बिभिन्न वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,गाउँसभा सदस्य,पालिकाको बिषयगत शाखाका प्रमुख र बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागितामा कार्यक्रम भइरहेको पालिकाले जनाएको छ ।