साँस्कृतिक पहिचान झल्काउने सिलाम साक्मा

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ३० । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लिम्बू जातिको साँस्कृतिक पहिचानको रूपमा रहेको सिलाम साक्माको प्रवद्र्धन तथा प्रचार गरिएको छ । गाउँपालिकाले मौलिक संस्कृतिको जगेर्ना साथै प्रवर्धन गर्ने उद्देश्यसहित सिलाम साक्माको प्रतिमा निर्माण गरी प्रवर्धनात्मक प्रचार गरेको हो ।
लिम्बू भाषामा सि को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो, अर्थात सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्नु हुन्छ । लिम्बू जातिको साँस्कृतिक पहिचान झल्काउने सिलाम साक्माको पछिल्लो समय प्रयोग गर्ने क्रम पनि बढ्दै गएको छ । लिम्बूबाहेकका समुदायसम्म सिलाम साक्माको प्रयोग बढ्दै गइरहेको बेला मैवाखोला गाउँपालिकाले यसकोप्रवर्धनमै जोड दिएको छ ।
मैवाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुमा गएको आइतबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विशाल आकारको सिलाम साक्माको प्रतिमा निर्माण गरिएको छ । वर्गाकार अर्थात उचाइ ५४ फिट र चौडाइ ५४ फिट भएको विशाल आकारसहित विभिन्न आकारका सिलाम साक्मा निर्माण गरी प्रदर्शन र प्रचार गरिएको छ ।
प्रतियोगिताको उद्घाटनमा हजारौं मानिसको सहभागिता रहेको र उक्त सहभागिताबिच प्रदर्शन गरिएको सिलाम साक्माले साँस्कृतिक पहिचानको प्रवर्धनमा टेवा पु¥याएको विश्वास गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले लिनुभएको छ । सिलाम साक्माको प्रवर्धन र प्रचार गर्ने उद्देश्यले नै प्रतिमा निर्माण गरी प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो । उहाँका अनुसार बाँसको भाटा प्रयोग गरेर ठूलो आकार करिव एक हजार ५०० किलोग्राम तौल भएको सिलाम साक्मा बनाई प्रवेशद्वार (गेट) निर्माण गरिएको छ ।
उद्घाटनका अतिथिलाई लोगो (व्याच) का रुपमा सिलाम साक्मा नै लगाई दिइएको थियो भने कार्यक्रममा प्रस्तुत भएको विद्यार्थीको नृत्य, मार्चपास लगायतका गतिविधिमा सिलाम साक्माको व्यापक प्रदर्शन गरिएको थियो । सिलाम साक्माको प्रयोगले मौलिक पहिचानको प्रवर्धनसँगै पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षासमेत राखिएको गाउँपालिका उपाध्यक्ष कमलकुमारी वनेम लिम्बूले बताउनुभयो । उहाँका अनुसार सिलाम साक्माको प्रदर्शनले प्रतियोगितामा सहभागीलाई आकर्षित गराएको थियो ।
सिलाम साक्मा विशेष गरी लिम्बू समुदायले आफ्नो पहिचान झल्काउन लोगो (प्रतीक) का रुपमा प्रयोग गर्ने गर्दछन् । लिम्बू जातिको मौलिक तथा साँस्कृतिक कर्मकाण्डमा पुजारीका रुपमा रहेका फेदाङ्मा, येबा, साम्बा, बिजुवाहरूले बाँसको सिन्का र उनीको धागोबाट सिलाम साक्मा निर्माण गरी प्रयोग गर्ने गर्दछन् । लिम्बू थाक्थुङ मुन्धुमअनुसार सिलाम साक्माले दिवङ्गतहरुको आत्माको विचार र बाटो छेक्ने गर्दछ ।
यस्तै जीवित रहनेको दिनचर्या सुखमयसाथ बित्ने, स्वस्थ, स्फूर्ति र उच्च मनोबलसहित सकारात्मक ऊर्जा बढाउनमा सिलाम साक्माले शक्ति प्रदान गर्ने भन्ने जनविश्वास पनि रही आएको छ । सोही जनविश्वासका कारण पछिल्लो समय लिम्बू तथा अन्य जाति समेतले बाँसको सिन्का र धागो साथै विभिन्न धातुबाट सिलाम साक्मा निर्माण गरेर प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । सिलाम साक्माको लोगो कोट, साडीलगायत पुरुष तथा महिलाले लगाउने पहिरनमा छातीको बाहिरपट्टि टाँसेर लगाउने गरिन्छ ।