‘नो केबलकार’ समूहद्वारा ग्लोबल आईएमई बैंक घेराउ

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २९ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विरोधमा रहेको ‘नो केबलकार’ समूहले मंगलबार ग्लोबल आईएमई बैंक घेराउ गरेका छन् । उक्त समूहले ताप्लेजुङसहित पूर्वका विभिन्न जिल्ला तथा सहरमा रहेका ग्लोबल आईएमई बैंकका शाखाहरु घेराउ गरेका हुन् ।
सरकारसँग आइतबार बसेको दुई पक्षीय वार्ता बिना निस्कर्ष टुंगिएपछि नो केबलकार समूहले आईएमई र ग्लोबल आईएमई बैंक बहिष्कार गर्नेसहितका आन्दोलनको कार्यक्रम घोषणा गरेको गरेको थियो । सो समूहले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार ग्लोबल आईएमई बैंकका शाखाहरु घेराउ गरेको बताइएको छ ।
नो केबलकार समूहअन्तर्गत मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमले केबलकार निर्माणविरुद्ध पूर्व घोषित कार्यक्रमअनुसार सदरमुकाम फुङ्लिङमा रहेको ग्लोबल आईएमई बैंकको शाखा घेराउ गरिएको जानकारी दिनुभयो । संयोजक लिङ्खिमका अनुसार पूर्वका विभिन्न जिल्ला सदरमुकाम र अन्य सहरहरुमा रहेका ग्लोबल आईएमई बैंकका शाखा घेराउ गरिएको छ ।
ग्लोबल आईएमई बैंकका शाखाहरु घेराउ गरिएपछि मंगलबार बैंकिङ सेवा प्रभावित भएको बताइएको छ । यस्तै आईएमई मनी ट्रान्सफर केन्द्रहरुमा पनि बहिष्कार कार्यक्रमअन्तर्गत नै घेराउ गरिएको नो केबलकार समूहले जनाएको छ । सोमबार घोषणा भएको आन्दोलनको कार्यक्रमअन्तर्गत आईएमई र ग्लोबल आईएमई बैंक घेराउको कार्यक्रम सफल भएको संघर्ष समितिका संयोजक लिङ्खिमको भनाइ छ ।
केबलकारका विषयलाई लिएर भएको वार्ताप्रति सरकार गम्भीर नभएको भन्दै नो केबलकार पक्षधर मुक्कुमलुङ ताङ्सेप चुम्भोका संस्था र अन्तरदलीय राजनीतिक पार्टीहरुले सोमबार आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । मंगलबारदेखि आउँदो फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंकसहित आइएमई केन्द्र १ नम्बर (कोशी) प्रदेशभर र देश विदेशमा बहिष्कार गर्ने घोषणा गरिएको छ । यस्तै मुक्कुमलुङ बचाउ पदयात्रा, केबलकार अनुमति खारेजीका लागि फुङ्लिङ नगरपालिका घेराउ गर्नेदेखि यातायात बन्ददेखि आमहड्ताल सम्मका कार्यक्रम गर्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।