|

जिल्लास्तरीय कोभिड समितिको खर्च पौने तीन लाख

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ७ ।
ताप्लेजुङ जिल्लास्थित कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिले हालसम्म पौने तीन लाख रुपियाँ बढी खर्च गरेको जनाएको छ । समितिले साउन मसान्त सम्ममा दुई लाख ८२ हजार ९१० रुपियाँ खर्च गरेको छ ।
समितिका सदस्य–सचिव समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणको क्रियाकलापमा खर्च गरेको जानकारी दिनुभयो । प्रजिअ चापागाईंका अनुसार संक्रमण नियन्त्रणसम्बन्धी क्रियाकलाप अन्तर्गत होल्डिङ सेन्टर तथा आइसोलेसन वार्ड व्यवस्थापन र सञ्चालन साथै एम्बुलेन्स प्रयोग लगायतमा खर्च भएको छ ।
आइसोलेसन तथा होल्डिङ सेन्टरमा राखिएकाहरुको खाद्यान्न खर्चमा ४९ हजार ६२० रुपियाँ, तरकारीजन्य वस्तु खरिदमा ४० हजार २४० रुपियाँ, औषधि खरिदमा छ हजार ५५० रुपियाँ खर्च भएको प्रजिअ चापागाईंले जानकारी दिनुभयो । यस्तै होल्डिङ सेन्टर व्यवस्थापनकै लागि ग्याँस, लत्ताकपडा, भाँडावर्तन आदिमा ३९ हजार १८२ रुपियाँ र स्वाब ओसारपसार गर्दा एम्बुलेन्स भाडामा ९५ हजार ५०० रुपियाँ खर्च भएको छ । समितिले उक्त खर्च गरेबापत छ हजार ४१८ रुपियाँ राजस्व जम्मा गरेको पनि उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय जिल्लास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिले सञ्चालन गर्नेगरी कोष खडा गरी संक्रमण नियन्त्रणको क्रियाकलापमा समितिले खर्च गर्दै आएको छ । जिल्लाका नौ वटै स्थानीय तहले सुरुमा दुई लाख रुपियाँका दरले कोषमा रकम जम्मा गर्ने र सो रकम समितिले आवश्यकताअनुसार खर्च गर्ने निर्णय भएको हो ।
कोषमा भने हालसम्म फुङ्लिङ नगरपालिका, आठराई त्रिबेणी गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मेरिङ्देन गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले मात्र रकम जम्मा गरेका छन् । अब सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाले रकम जम्मा गर्न बाँकी रहेको देखिएको छ । हालसम्म पाँचवटा स्थानीय तहले कोषमा जम्मा गरेको १० लाख रुपियाँबाट खर्च गरिँदै आएको र कोषको खातामा सात लाख १७ हजार ९० रुपियाँ मौज्दात रहेको समितिले जनाएको छ ।
कोभिड समितिको व्यवस्थापनमा होल्डिङ सेन्टर तथा आइसोलेसन कक्ष सञ्चालन गर्नेगरी जिल्लाको सबै स्थानीय तहले कोषमा रकम जम्मा गर्ने निर्णय भएको हो । समितिले विदेशबाट आउने तथा स्वदेशकै विभिन्न ठाउँदेखि जिल्ला भित्रिनेलाई सदरमुकाम फुङ्लिङभित्र रहेको होल्डिङ सेन्टरहरुमा राखेर उनीहरुलाई पीसीआर विधिबाट स्थास्थ्य परीक्षण गरेर मात्र सम्बन्धित ठाउँ वा कार्यालयमा पठाउने गरेको छ । पीसीआर रिपोर्ट पोजेटिभ आएमा उनीहरुको उपचार पनि समितिले नै गर्दै आएको र संक्रमितलाई उपचारपछि निको भएर मात्र घर पठाइने गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts