ताप्लेजुङमा दुईसाताको अवधिमा डढेलो निभाउने क्रममा दुईजनाको मृत्यु

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १८ । जंगलमा लागेको डढेलो निभाउने क्रममा दुईसाताको अवधिमा ताप्लेजुङमा दुईजनाको ज्यान गएको छ ।
आइतवार साँझ एकयुवाको र गत चैत ६ गते एक बृद्धको ज्यान गएको हो । आइतवार साँझ मेरिङदेन गाउँपालिका वडा नं १ थिङ्लाबुस्थित लुङ्जा भीरमा लागेको डढेलो निभाउने क्रममा पाथीभरा याङवरक गाउँपालिका वडा नं ६ स्थायी घर भई हाल इलाम बस्दै आउनु भएका २७ बर्षिय भूपेन्द्र ल्वागुनको मृत्यु भएको छ । मृतक ल्वागुनका आफन्त तथा पत्रकार महासंघ ताप्लेजुङका उपाध्यक्ष सन्तोष पुर्कुटीका अनुसार बुढो मावली घर थिङ्लाबु पुग्नु भएका उहाँको लुङ्जा भीरको जंगलमा लागेको डढेलो निभाउने क्रममा मृत्यु भएको हो ।
‘जंगलमा लागेको डढेलो बस्तितर्फ प्रवेश गर्ने जोखिम बढेपछि स्थानीयसंगै उहाँपनि डढेलो नियन्त्रण गर्ने क्रममा डढेलो क्षेत्रतर्फ जानु भएको रहेछ,त्यही क्रममा आगोको लप्कामा परी लड्दा उहाँको मृत्यु भयो’पुर्कुटीले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)रवि रावलले शवको पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । रावलका अनुसार गत चैत ६ गते आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका ७५ बर्षिय सुरेन्द्र तामाङको समेत यस्तै प्रकृतिको घटनामा परी मृत्यु भएको थियो । तामाङको आफ्नै बारीमा झ्यास डढाउने क्रममा आगो ठूलो बल्न गई आगोले खुट्टामा पोली भाग्ने क्रममा बारीको डिलबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।