आठराई त्रिबेणीद्धारा १५ शीर्षकमा शैक्षिक तथा खेलकुद अनुदान प्रदान गर्नेगरी कार्यविधि लागु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १९ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले बिभिन्न १५ शीर्षकमा शैक्षिक तथा खेलकुद अनुदान प्रदान गर्नेगरी कार्यविधि जारी गरेको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार पालिकाको शैक्षिक तथा खेलकुद क्षेत्रको उन्नयन तथा प्रभावकारी व्यवस्थापनका लागि यो कार्यविधि लागु गरिएको हो । कार्यविधि अनुसार १३ शीर्षकमा शैक्षिक अनुदान तथा दुई शीर्षकमा खेलकुद अनुदान बितरण गरिने छ । शैक्षिकतर्फ पालिकाले माध्यमिक शिक्षा निःशुल्क अनुदान व्यवस्थापन कार्यक्रम,पालिका स्तरीय बार्षिक परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यक्रम,प्रधानाध्यापकहरुलाई थप भत्ता,प्रस्तावको आधारमा शिक्षकको क्षमता विकास तालिम र प्राविधिक शिक्षा निःशुल्क अनुदान उपलब्ध गराउँदै आएको छ ।

कार्यविधि अनुसार आनिपान तथा शेर्पा भाषा पठनपाठन अनुदान,एक बिद्यार्थी,एक बिरुवा कार्यक्रमका लागि अनुदान,वाल विकास शिक्षा तथा बिद्यालय कर्मचारीका लागि थप सुबिधा अनुदान,बिद्यार्थीसंग अध्यक्ष कार्यक्रम,बिद्यार्थीहरुलाई ट्रयाकसुट खरिदका लागि बिद्यालगत अनुदान,बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको क्षमता विकास अनुदान कार्यक्रम समेत समावेश भएका छन् । यस्तै पालिका भरीका बिद्यालयको नियमित अनुगमन तथा मूल्याङ्कन,बिद्यालयको आन्तरिक लेखा परीक्षणका लागि पालिकाले कार्यविधिमार्फत नै अनुदान तथा कार्यक्रम सञ्चालनको नीतिगत प्रवन्ध गरेको छ । यस्तै पालिका स्तरीय र जिल्ला स्तरीय खेलकुद कार्यक्रमका लागि समेत कार्यविधिमार्फत नै व्यवस्थापन हुनेगरी अनुदानको प्रवन्ध गरिएको पालिकाले जनाएको छ ।

पालिकाले कार्यविधिमार्फत नै बिद्यालय अनुदान बितरणका आधार समेत तोकेको छ । मासिक रुपमा गाउँ शिक्षा समिति र पालिकाभरीका बिद्यालयका प्रधानाध्यापकबिच बिद्यालय सुधारका योजना केन्द्रित नियमित बैठक समेत आठराई त्रिबेणीले नियमित रुपले गर्दै आइरहेको छ । पालिकाको शिक्षा शाखाका प्रमुख सुरेशकुमार पुरीले उक्त नियमित बैठकमा शैक्षिक अवस्थाको विश्लेषण,नतिजा सुधारको अवस्था,बिद्यालयको भौतिक सहितका अन्य आवश्यकताको पहिचान र बिश्लेषण गर्ने तथा योजनाको प्राथमिकता समेत निर्धारण हुने जानकारी दिनुभयो । मासिक नियमित बैठकका अलवा पालिकाले बजेट निर्माण गर्नुअघि बिद्यालय प्रशासनसंग छलफल गरी बिद्यालयका लागि बिनियोजन गर्नुपर्ने योजना र बजेट समेतको अवस्थाका बारेमा छलफल गर्दै आइरहेको पालिकाको शिक्षा शाखाले जनाएको छ ।

Similar Posts