आत्महत्या रोकथाम तथा न्यूनीकरण अभियानमा ताप्लेजुङ प्रहरी,चालु आर्थिक बर्षमा ५ जनाको उद्धार

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ३० । आत्महत्या रोकथाम तथा न्यूनीकरणका अभियान सञ्चालन गर्दै आएको ताप्लेजुङ प्रहरीले चालु आर्थिक बर्षमा आत्महत्याको प्रयास गरेका ५ जनालाई उद्धार गर्दै सामान्य जीवनमा फर्काएको छ ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)रवि रावलका अनुसार यसरी उद्धार गरिएको संख्या कोशी प्रदेशका तीन हिमाली जिल्लामध्ये सबैभन्दा बढी हो । रावलका अनुसार आत्महत्याको प्रयास गरेका फुङलिङ नगपालिकाका २ जना र मिक्वाखोला,पाथीभरा याङवरक तथा फक्ताङलुङ गाउँपालिकाका १–१ जनालाई उद्धार गरिएको छ । सामुदायिक प्रहरी साझदारी कार्यक्रममार्फत प्रहरीले आत्महत्या न्यूनीकरणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

गत भदौ ६ गते देखि आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्ययोजना २०८१ कार्यान्वयनमा आएसंगै प्रहरीले बिभिन्न सरोकारवाला निकायसंगको सहकार्यमा ताप्लेजुङमा आत्महत्या न्यूनीकरण सम्वन्धी कार्यक्रमलाई तीव्रता दिएको छ । यसका लागि पालिका र वडा स्तरीय सहयाता समिति बनाईदैं छ । हालसम्म ताप्लेजुङका ९ वटै स्थानीय तहमा सहयाता समिति बनिसकेको र करिव ८० प्रतिशत वडा तहमा समेत समिति निर्माण भई आत्महत्या न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको रावलले जानकारी दिनुभयो । उहाँका अनुसार समिति निर्माण भएका क्षेत्रका ४० जनालाई समितिको काम,कर्तव्य र अधिकारका बारेमा अभिमुखीकरण समेत गराईएको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट गठित समिति र सूचना संकलन डेस्कमार्फत सूचना प्राप्त भएपश्चात गठन गरिएको सहायता टोलीमार्फत जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको सहयोगमा परामर्श सेवा र आवश्यक पर्नेलाई उपचार समेत गराउने व्यवस्था गरिएको छ । आत्महत्या न्यूनीकरण अभियानका लागि स्थानीय तह,जिल्ला प्रशासन कार्यालय सहितका विभिन्न सरोकारवाला निकायको सहयोगमा ३ हजार थान पम्प्लेट निर्माण गरी जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरीकार्यालयले पालिका र वडास्तरीय समितिमार्फत वितरण गर्ने योजना गरिएको समेत रावलले बताउनुभयो ।

समुदायका सदस्यको उपस्थिति र सहकार्यमा हुने यस्ता कार्यक्रमले आत्महत्या रोकथाम तथा न्यूनीकरणका सन्देशहरू समुदायका प्रत्येक घरधुरी सम्म पुग्न प्रहरीको विश्वास छ । गाउँ–गाउँमा सञ्चालन हुने बिभिन्न औपचारिक कार्यक्रममा समेत मातहतका प्रहरी कार्यालयको अगुवाइमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका उपायका बारेमा जनचेतनामूलक सन्देश प्रवाह गराउने कार्यलाई अभियानकै रुपमा अघि बढाईएको समेत प्रहरीले जनाएको छ ।

आत्महत्या न्यूनीकरण बाहेक प्रहरी कार्यालयले सम्भावित आगलागी तथा डढेलोका घटना हुन नदिन र सम्वन्धित पक्षलाई सावधानी तथा सम्बेदनशीलता अपनाउन आग्रह गर्दै सार्वजनिक सूचना आवह्वान समेत गर्दै आएको जनाएको छ । जनचेतनाका लागि लिम्बू,गुरुङ र शेर्पा भाषामा समेत ‘जिङगल’निर्माण गरी प्रचारप्रसारका कार्य समेत हुँदै आएको प्रहरी कार्यालयले जनाएको छ । सूचना आवह्वान र व्यवस्थापनका लागि पत्रकार महासंघ ताप्लेजुङसंग र जिल्लामा सञ्चालित आम सञ्चार माध्यमको समेत सहयोग लिइएको रावलले जानकारी दिनुभयो ।

विज्ञहरूका अनुसार युवा तथा किशोर किशोरी,सम्बन्ध विच्छेद गरेर एक्लो जीवन बाँचिरहेका व्यक्तिहरू,तनावयुक्त वैवाहिक जीवन,घरबार बिग्रिएर बसेका व्यक्ति, घरेलु तथा लैङ्गिक हिंसा,यौन शोषण,बलात्कार,सामाजिक लाञ्छना आदिमा परेका महिलाहरू, प्रेममा असफल व्यक्तिहरू,ठूलो आर्थिक हानी नोक्सानीमा परेका व्यक्तिहरू,जीवनदेखि हरेस खाएका र आत्मविश्वास गुमाएका व्यक्तिहरू आत्महत्याको बढी जोखिममा हुन्छन् । आत्महत्या गर्ने कारणहरूमध्ये डिप्रेसन रोगलाई प्रमुख कारणको रुपमा लिने गरिन्छ । आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने,उनीहरूको मनको कुरा सुनिदिने,काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी घरपरिवारका सदस्य तथा साथीभाइहरूले उपचार प्रक्रियामा सहयोग गनुपर्ने विज्ञहरूले सल्लाह दिएका छन् ।

Similar Posts