| |

‘नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्ने सम्भावना’

-उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर २५ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टी बनेसँगै वामपन्थीहरु ध्रवीकरण हुने क्रम जारी रहेकाले पहिलो पार्टी बन्ने सम्भावना नजिक भएर गएको गजुरेलले बताउनुभएको हो ।
सदरमुकाम फुङ्लिङमा बिहीबार बिहान आयोजित पक्रकार भेटघाट कार्यक्रममा नेता गजुरेलले नेकपा देशको बलियो शक्ति बन्दै पहिलो पार्टी हुने दावी गर्नुभयो । विगतका समयमा भएका पार्टी एकताहरु भन्दा यसपटक फरक खालको एकता भएकाले नेकपातिर सबै वाम विचार भएकाहरु आकर्षित भइरहेका पनि उहाँले बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सन्तुलित बनाउँदै राष्ट्रलाई संकटबाट बचाउन र समाजवादी क्रान्तिलाई पुरा गर्न नेपाली कम्युनिस्ट पार्टी बनेको बताउनुभयो । तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित वामपन्थी दलहरुले समाजवादी मार्गलाई अवलम्बन गरी समाजवादी क्रान्तिलाई पुरा गर्ने सैद्धान्तिक सहमतिका साथ नेपाली कम्युनिस्ट पार्टी बनाएको पनि उहाँले बताउनुभयो ।
पार्टी, नेतृत्व र नेताहरु सच्चिने प्रयत्नमा पनि नेपाली कम्युनिस्ट पार्टी एक आधार बनेको बताउँदै नेता गजुरेलले सच्चिन र रुपान्तरण हुन नचाहाने केही नेताहरु एकतामा समाहित नभएका बताउनुभयो । उहाँले निर्वाचन जित्नका लागि पार्टी एकता नभएको प्रस्ट पार्दै नेपाली कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुन र एकठाउँमा आउन सबै वामपन्थीहरुलाई आह्वानसमेत गर्नुभएको छ ।
गजुरेलसँगै आउनुभएका नेकपाका अर्का नेता, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि नेकपा देशको पहिलो पार्टी बन्ने दावी गर्नुभयो । राईले नेकपा एमालेभित्र पनि रुपान्तरण चाहानेको सङ्ख्या ठूलो रहेकाले अब हुने एमालेको महाधिवेशनपछि कतिपय नेताहरु नेकपामा समाहित हुनेगरी छलफल भइरहेको बताउनुभयो ।
उहाँले एक अर्को प्रसंगमा वर्तमान कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने अडान कायमै रहेको बताउनुभयो । तत्कालीन एकीकृत समाजवादीले प्रदेश सभामा पहिचानको आधारमा नामाकरण गरिनुपर्छ भन्ने मुद्दा लिएर अघि बढेको र अब नेपाली कम्युनिस्ट पार्टी भएपछि पनि पहिचानकै पक्षमा उभिएर पुनर्नामांकनको पहल गर्ने उहाँले बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले आज जिल्लास्तरीय पार्टी एका सन्देश सभाको आयोजना गरेको छ । सो सन्देश सभालाई सम्बोधन गर्न नेता गजुरेल, राई, तत्कालीन माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ (मिक्सो) लगायतका नेता ताप्लेजुङ आउनुभएको छ । एकता सन्देश सभा अहिले ११ बजेपछि सुरु हुने नेकपाका नेता खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिनुभयो ।

Similar Posts