डेढ महिना भित्रमा काबेली खोलाबाट उत्पादित करिव ३४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २० । बन्द हड्ताल सहितका कुनै कार्यले अवरोध नगरे अबको करिव डेढ महिना भित्रमा ताप्लेजुङ भएर बग्ने काबेली खोलाबाट उत्पादित करिव ३४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने भएको छ ।

काबेली हाईड्रोपावर कम्पनी लिमिटेडद्धारा प्रर्वद्धित २१.९३ मेगावाट क्षमताको काबेली–३ क्यासकेट जलविद्युत आयोजना र हिलटन हाईड्रो इनर्जी लिमिटेडद्धारा प्रर्वद्धित १२ मेगावाट क्षमताको जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने क्रममा रहेको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले बाँकी कार्यमा कुनै अवरोध नआए अब बढीमा डेढ महिना भित्रमा दुबै आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने अवस्था आएको जानकारी दिनुभयो । ‘निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,बाँकी कार्यमा समेत अवरोध नआए अब विद्युतको व्यवसायिक उत्पादनका लागि प्रकृया आरम्भ हुने छ’उहाँले भन्नुभयो ।

ढुङ्गानाका अनुसार हिलटन हाईड्रो इनर्जीद्धारा उत्पादित विद्युतको व्यवसायिक उत्पादनका लागि करिव महिना दिन र काबेली–३ क्यासकेट जलविद्युत आयोजनाद्धारा प्रर्वद्धित बिद्युतका लागि करिव डेढ महिना लाग्न सक्ने उहाँले बताउनुभयो । बाँकी कार्यमा क्रममा अवरोध नआए निर्माणको बाँकी काम सकी परीक्षण प्रसारणको तयारी गरिने जलविद्युत आयोजनाहरुले बताएका छन् ।

सिरिजङ्गा गाउँपालिका भई बग्ने काबेलीखोलाको पानी उपयोग गरी बनाईएको स्नो रिर्भस लिमिटेडद्धारा प्रर्वद्धित सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको विद्युत भने गत मंसिर १६ गतेबाटै राष्ट्रिय प्रसारण लाइनमा समाहित भईसकेको छ ।

स्नो रिर्भस लिमिटेडका निर्देशक राजेन्द्र भारतीले तीनवटै जलविद्युत आयोजना निर्धारित समय भन्दा अगावै निर्माण कार्य पूरा हुन लागेको जानकारी दिनुभयो । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाका लागि आउँदो चैत सम्मको समय थियो । उसले गत मंसिर दोस्रो साताबाट नै व्यवसायिक उत्पादन थालिसकेको छ ।

 

Similar Posts