जलविद्युतको संरचना तोडफोड गरेको अभियोगमा एक पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा रहेको एक जलविद्युत आयोजनाको संरचना तोडफोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २२ बर्षिय बसन्त लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक रोहितकुमार शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार निज लिम्बूले मेरिङदेन गाउँपालिका वडा नं ५ मा रहेको ९.३ मेगावाट क्षमताको सिवाखोला विद्युत् आयोजनाको बाँधस्थल नजिकै रहेको साइड कार्यालय र कर्मचारी आवास गृहमा प्रवेशगरी तोडफोड गरेका थिए ।
लिम्बूले मादक पदार्थ सेवन गरी आवास गृहको झ्याल–ढोका फुटाउनुका साथै विद्युत् उपकरण, शौचालय, स्नानगृह सहितका सामान तोडफोड गरेको प्रहरीले बताएको छ । उनलाई अपराधिक उपद्रव मुद्दा शीर्षकमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।