आर्थिक बर्षको ९ महिना पूरा हुँदा ताप्लेजुङमा पुँजीगत खर्च परिचालन ४० प्रतिशतमा सिमित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २ । चालू आर्थिक बर्षको ९ महिना पूरा हुँदा ताप्लेजुङमा पुँजीगत बजेट खर्च ४० प्रतिशत हाराहारीमा सिमित भएको पाइएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार संघीय र प्रदेश दुबैतर्फ पुँजीगत बजेटको ४० प्रतिशत हाराहारी खर्च भएको छ । कोष नियन्त्रक गणेशप्रसाद पोखरेलका अनुसार संघीय बजेटतर्फ पुँजीगत बजेटको ४०.४० प्रतिशत खर्च भएको छ । प्रदेशतर्फ भने ४०.८४ प्रतिशत पुँजीगत बजेट खर्च भएको समेत पोखरेलले जानकारी दिनुभयो । यस्तै चालू बजेटको संघीयतर्फ ६५.३० प्रतिशत र प्रदेशतर्फ ५०.३१ प्रतिशत बजेट खर्च भएको छ ।
कोलेनिकाका सहायक लेखापाल नवीन खनालका अनुसार संघीयतर्फ चालू बजेट कूल ४ अर्व २९ करोड ३१ लख ५९ हजार १० रुपैयाँ रहेकोमा चैत मसान्त सम्ममा २ अर्व ८० करोड ३८ लाख ६१ हजार ४ सय ९७ रुपैयाँ खर्च भएको छ । यस्तै संघीयतर्फकै पुँजीगत बजेट ४० करोड ३९ लाख ५३ हजार ५ सय ४ रुपैयाँ रहेकोमा १६ करोड ३२ लाख २३ हजार १ सय ६२ रुपैयाँ खर्च भएको छ । संघीयतर्फ चालू र पुँजीगत गरी कूल २ अर्व ९६ करोड ७० लाख ८४ हजार ६ सय ६० रुपैयाँ खर्च भएको समेत खनालले जानकारी दिनुभयो ।
यस्तै प्रदेशतर्फ ४१ करोड ४३ लाख २२ हजार रुपैयाँ चालू बजेट रहेकोमा चैत मसान्त सम्ममा २० करोड ८४ लाख ६० हजार ४७ रुपैयाँ खर्च भएको समेत खनालले बताउनुभयो । प्रदेशतर्फ २० करोड ५ लाख २ हजार रुपैयाँ पुँजीगत बजेट रहेकोमा ८ करोड १८ लाख ९३ हजार ९ सय ६५ रुपैयाँ खर्च भएको छ । खनालका अनुसार प्रदेशतर्फ चालू र पुँजीगत दुबैतर्फ गरी कूल २९ करोड ३५ लाख ४ हजार १३ रुपैयाँ खर्च भएको छ ।
पुँजीगत खर्चलाई विकास खर्च पनि भनिन्छ । पुँजीगत खर्चमा प्रगति नहुनु भनेको विकास खर्च भनेजस्तो गरी परिचालन नहुनु हो । बजेटका जानकारहरुले पुँजीगत खर्च गतिशिल नहुनुलाई ‘विकासको गति सुस्त हुनु’को रुपमा बुझ्ने गर्छन् । तलव,भत्ता,कार्यालय सञ्चालन सहितका शीर्षकका रकम चालू खर्चमा राखिन्छ ।