| |

मेरिङ्देनका विद्यार्थीको दन्त परीक्षण तथा उपचार

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा विद्यार्थीहरुको दन्त (दाँत) परीक्षण तथा उपचार गरिएको छ । मेरिङ्देन गाउँपालिकाले आइतबार वडा ६ नाल्बु तथा सोमबार वडा ५ थुकिमा र वडा ४ लिङ्तेपमा रहेका विद्यार्थीको दन्त परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो ।
गाउँपालिकाको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत विद्यार्थीहरुको दन्त परीक्षण साथै उपचार गरिएको हो । वडा ६, ५ र ४ नाल्बु, थुकिमा र लिङ्तेपका विद्यालयमा अध्ययरत विद्यार्थीको दन्त परीक्षण तथा उपचार गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार नाल्बुका विद्यार्थीलाई नाल्बु स्वास्थ्य चौकी तथा थुकिमा र लिङ्तेपका बिद्यार्थीलाई महाश्रेङ स्वास्थ्यचौकीमा केन्द्रित गरी दन्त परीक्षण तथा उपचार सेवा प्रवाह गरिएको हो ।
ताप्लेजुङ जिल्ला अस्पतालकी डेन्टल सर्जन डा. रञ्जना खड्का लगायतले विद्यार्थीको दन्त परीक्षण साथै उपचार सेवा प्रदान गर्नुभएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साहका अनुसार दाँत निकाल्ने, भर्नेसहित दाँतसम्बन्धी समस्या भएका विद्यार्थीको दाँत उपचार गरिएको छ । बाँकी रहेका वडामा कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts