| |

नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा दुई हप्ता अघि नै ताप्लेजुङ आइपुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १६ । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक शुक्रबार आइपुगेको हो ।
यसवर्ष नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साता अघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक ताप्लेजुङ आइपुगेको हो । सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तकहरु ल्याइएको छ । जिल्लास्थित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले पाठ्यपुस्तक ल्याएको हो ।
महासंघका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रले तत्कालका लागि कक्षा १ देखि १० सम्मका २२ हजार सेट पाठ्यपुस्तक आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली माध्यमको प्रतिकक्षा एक हजार ५०० का दरले १५ हजार सेट पाठ्यपुस्तक रहेका छन् । यस्तै कक्षा १ देखि ७ सम्म अङ्ग्रेजी माध्यमको तीन हजार ५०० सेट र लिम्बू भाषाको आनिपान पुस्तक कक्षा १ देखि ७ सम्मको तीन हजार ५०० सेट नै आइपुगेको छ ।
जिल्लामा पाठ्यपुस्तक आइपुगेसँगै आउँदो सोमबारदेखि बिक्री वितरण सुरु गरिने पनि महासङ्घका अध्यक्ष मिश्रले बताउनुभयो । महासंघले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै विद्यालय–विद्यालयमा पु¥याउनेगरी पाठ्यपुस्तक ल्याएको महासंघका प्रमुख सल्लाहकार दिनेश भट्टराईले बताउनुभयो । यस वर्ष सबै कक्षाको कुनै पनि विषय नछुटी पुरै सेट उपलब्ध रहेको पनि भट्टराईले जानकारी दिनुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका पाठ्यपुस्तक ल्याएको हो । यसवर्ष पनि पाठ्यपुस्तकको पुरानै मूल्य कायम रहेको महासंघले जनाएको छ । यता समयमै सामुदायिक विद्यालयका पाठ्यपुस्तक आएपछि विद्यार्थी, शिक्षक तथा अभिभावक हर्षित भएका छन् ।
ताप्लेजुङमा हाल ३३० वटा सामुदायिक विद्यालय रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार ३३० सामुदायिक विद्यालयमध्ये ६१ वटा माध्यमिक तहका रहेका छन् । बाँकी १–३, १–५ र १–८ कक्षा सञ्चालित आधारभूत तहका विद्यालय रहेका भट्टराईले जानकारी दिनुभयो । उक्त सङ्ख्यामा रहेका सामुदायिक विद्यालयमा करिव २० हजार विद्यार्थी अध्ययनरत रहेका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts