पाथीभरामा संकलन भएको सुनचाँदी बिक्री भएन

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १६ गते । ताप्लेजुङको पाथीभरामा संकलित सुन र चाँदी बिक्री नहुने भएको छ । सुन र चाँदी बिक्रीका लागि आवेदन आह्वान गरिएकोमा कसैले पनि खरिद गर्न आवेदन नदिएका हुन् ।
पाथीभरामा हालसम्म संकलन भएको १७८ तोला सुन र पाँच हजार २९८ तोला चाँदी लिलाम बिक्रीका माध्यमबाट बिक्री गर्नेगरी पाथीभरा क्षेत्र विकास समितिले आवेदन आह्वान गरेको थियो । सुनचाँदी खरिदका दिइएको समयावधिमा कसैले पनि खरिद गर्न आवेदन नदिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।
खरिदकर्ताले आवेदन नदिएपछि तत्कालका लागि सुन र चाँदी बिक्रीको प्रक्रिया अघि नबढ्ने भएको कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो । पाथीभरा दर्शनमा आएका भक्तजनले गत मङ्सिर १६ गतेसम्म चढाएका सुनका गरगहाना तथा चाँदीका सामग्री शुद्धीकरण समितिले बिक्री गर्न लागेको थियो ।
समितिले २१ दिने म्याद राखेर गोरखापत्र दैनिकमा लिलाम बिक्रीको सूचना प्रकाशित गरेको थियो । शुद्धीकरण गरिएको १ नम्बर सुन १७८ तोला ८२ लाल प्रतितोला एकलाख २१ हजार र पाँच हजार २९८ तोला १२ लाल असली चाँदी प्रतितोला एकहजार ४१० रुपियाँमा बिक्री गर्नेगरी न्युनतम मूल्य निर्धारण गरेको थियो ।
समितिले सुन र चाँदी बिक्री गर्ने प्रक्रिया सुरु गरेयता सुनचाँदीको मूल्य भने निरन्तर वृद्धि हुँदै आएको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ कायम गरिएको छ ।