लिबाङमा स्वास्थ्य चौकी भवन निर्माण

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिबाङमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । संघीय सरकारको हस्तान्तरित कार्यक्रमअन्तर्गतको बजेटले लिबाङ स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको हो ।
स्वास्थ्य चौकी भवनको भवन निर्माण सम्पन्न भएसँगै मंगलबार मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले उद्घाटन गर्नुभएको छ । स्वास्थ्य चौकी भवन कुल एक करोड १९ लाख ८६ हजार ९४१ रुपियाँको लागतमा निर्माण भएको गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार लिबाङ स्वास्थ्य चौकी सञ्चालनलाई आवश्यक पर्ने कोठा र अन्य संरचनासहित पक्की भवन निर्माण गरिएको छ । उक्त भवन निर्माण गर्नका लागि स्थानीय बलनाथ लिम्बूले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । सोही जग्गामा सुनकोसी निर्माण सेवा प्रालिले स्वास्थ्य चौकी भवन निर्माण गरेको स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।
गाउँपालिका र निर्माण कम्पनीबीच २०७७ साल फागुन २३ योजनाको सम्झौता गरी निर्माण सुरु गरिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्यासहित वडाका जनप्रतिनिधि, स्थानीय समुदाय लगायतको उपस्थितिमा स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।