| |

बजेट नहुँदा बहानन्दे–दोभान सडक कालोपत्रेको काम रोकिँदै

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, चैत १५ । ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रेको काम बजेट अभावले अलपत्र बन्दै गएको छ । निर्माण व्यवसायीले काम गरेको रकम भुक्तानी नपाएपछि सडक कालोपत्रे निर्माणको काम अलपत्र बन्दै गएको हो ।
फुङ्लिङ नगरपालिकास्थित मेची राजमार्गको दोखु बहानन्देदेखि मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान जोड्ने सडकको ट्रयाक निर्माण भएको करिव अढाइ दशकपछि स्तरवृद्धि अर्थात कालोपत्रे गर्न सुरु गरिएको हो । बहानन्देदेखि दोभानको तमोर नदी पुलसम्मको १० किलोमिटर दूरीभित्र सडक कालोपत्रेको काम हुँदै आएको छ । उक्त सडक कालोपत्रेको काम गर्नलाई बजेट नभएपछि काममा अवरोध पुगेको छ ।
कालोपत्रे निर्माणको काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन प्रालिले काम गरेको रकम भुक्तानी नपाएका कारण समस्या भएको जनाएको छ । एपेक्स कन्स्ट्रक्सन प्रालिका निर्देशक रमेश अधिकारीले काम गरेको रकम नपाएकाले कम्पनी काम छोड्ने मनस्थितिमा पुगेको बताउनुभयो । रकम नपाएपछि काममा संलग्न मजदुरसहितका जनशक्तिलाई चार महिनादेखि पारिश्रमिक दिन नसकेको अधिकारीको भनाइ छ ।
काममा संलग्न जनशक्तिलाई पारिश्रमिक दिने साथै सडक कालोपत्रेको काममा प्रयोग भएका मशिन तथा उपकरणमा लगाउने इन्धन (पेट्रोलियम पदार्थ) लगाउने रकम नभएपछि काम छोड्नपर्ने बाध्यता बन्दै आएको उहाँले बताउनुभयो । समयमा नै सडक कालोपत्रेको काम सक्नेगरी कम्पनीमा आवद्ध कर्मचारीसहित करिव २५० जना जनशक्ति संलग्न भएकोमा पारिश्रमिक नपाएपछि अहिले अधिकांसले काम छोडिसकेका उहाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार योजना क्षेत्रमा हाल २०-२५ जना मात्र जनशक्ति संलग्न रहेका छन् । लामो समयदेखि भुक्तानी दिन सडक योजना कार्यालय र सरकारसँग पहल हुँदै आए पनि हालसम्म रकम नपाएकाले बाँकी रहेका जनशक्तिलाई समेत काम छोडाउन लागेको अधिकारीले बताउनुभयो । निर्माण प्रालिका अनुसार हालसम्म ६५ प्रतिशत जति सडक कालोपत्रेको प्रगति भइसकेको छ ।
कामको मूल्यांकन र प्रगतिका आधारमा करिव सात करोड रुपियाँ भुक्तानीका लागि बिल भर्पाइसहित कागजात पेस गरेको र हालसम्म सो रकम नपाएको प्रालिले जनाएको छ । काम गरेका जनशक्तिले पारिश्रमिक बापतको रकम निरन्तर मागिरहेका र रकम दिन सक्ने स्थिति नभएपछि निर्माण प्रालिका नेतृत्वलाई अप्ठ्यारो परिरहेको निर्देशक अधिकारीले बताउनुभयो ।
यता उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर सुदर्शन कार्कीका अनुसार रकम नभएपछि भुक्तानी दिन नसकेको बताउनुभयो । योजना कार्यालयको मूल्यांकनअनुसार पनि कामको प्रगतिका आधारमा निर्माण व्यवसायीलाई चार करोड रुपियाँ बढी रकम भुक्तानी दिनुपर्नेमा सो रकम दिन नसकिएको कार्कीले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म निर्माण प्रालिलाई करिव ४५ प्रतिशत रकम भुक्तानी भएको छ । पछिल्लो पटक भुक्तानी दिनुपर्ने रकमका लागि सडक विभागसँग निरन्तर पहल गर्दा पनि रकम प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले बजेट व्यवस्थाका लागि सडक विभागसमक्ष तीन पटकसम्म फाइल पठाई सकेको र जिल्लाका प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई, लीलादेवी बोखिमसहित राजनीतिक दलका नेतृत्वमार्फत पहल गर्दासमेत बजेट नपाएको बताउनुभयो । यहाँबाट पेस भएको रकम माग गरिएको फाइल सडक विभाग योजना महाशाखामा रोकिएको उहाँको भनाइ छ ।
ताप्लेजुङका प्रतिनिधिसभा सदस्य एवम् पूवमन्त्री योगेशकुमार भट्टराईले पनि बहानन्दे–दोभान सडक कालोपत्रेका लागि बजेट व्यवस्था गर्न आफ्नो तर्फबाट पहल भइरहेको बताउनुभयो । जिल्लाकै एक महत्वपूर्ण सडक योजनाको स्तरवृद्धि गर्ने कामका लागि बजेट अभाव हुनु दुःखद् भएको बताउनुहुँदै सडक योजनालगायतका निकाय र मन्त्रीलाई घचघच्याइरहेको भट्टराईले बताउनुभयो ।
अर्का प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले पनि बजेट व्यवस्था गराउनका लागि निरन्तर पहल गरिरहेको बताउनुभयो । उत्तर दक्षिण सडक योजना कार्यालयका प्रमुखसमेतको समन्वयमा आफूले विभाग र सम्बन्धित निकायका कर्मचारी लगायतसँग सम्पर्क गरिरहेको बोखिमले बताउनुभयो । यस विषयमा अब बस्ने संसद बैठकमै प्रसंग उठाउने तयारी गरिरहेको उहाँले सुनाउनुभयो ।
निर्माणको कामले निरन्तरता नपाउँदा भने घाम लाग्दा सडक धुलाम्मे र पानी पर्दा हिलाम्मे हुँदै आएकाले यातायात सञ्चालनमा कठिनाइ भएको छ । सडक कालोपत्रेअन्तर्गत नाली बनाउने, बेस बिच्छाउनेलगायत निर्माणसम्बन्धी हुँदै काम लथालिंग छोड्नाले यातायात सञ्चालनमा समस्या आएको छ । सडकको धुलो र हिलोले सवारी साधन सञ्चालनमा सास्ती भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको यातायात व्यवसायी बताउँछन् ।
जिल्लाकै आधा भू–भाग अर्थात प्रदेश निर्वाचन क्षेत्र ‘ख’ लाई जोड्ने मुख्य यो सडक कालोपत्रे गर्नलाई एपेक्स कन्स्ट्रक्सन प्रालि मैतीदेवी काठमाडौंले कुल ३३ करोड ९९ लाख ४६ हजार ६२६ रुपियाँ बजेटमा काम गरिरहेको हो । योजना कार्यालय र निर्माण प्रालिबीच २०८१ फागुन मसान्त सम्ममा कालोपत्रेको काम सक्नेगरी २०७९ असार २३ गते सम्झौता भएको थियो । सात मिटर कालोपत्रेसहित चौडाइ १० मिटर हुनेगरी सडक स्तरवृद्धिको कार्य गरिँदै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts