उपमेयर कप महिला फुटबल प्रतियोगिताको फाइनल आज
-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २८ । गएको शुक्रबारदेखि ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सुरु भएको दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज (सोमबार) हुँदै छ । प्रतियोगितामा आयोजक फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकाबिच फाइनल भिडन्त हुने भएको हो ।
आइतबार भएको पहिलो सेमिफाइनलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ९–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक फुङलिङ नगरपालिका फाइनल प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइन खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन गाउँपालिका फाइनलमा पुगेको हो ।
फाइनल पुगेका फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकाबीच अन्तिम खेल वा फाइनल भिडन्त आज दिउँसो १ बजेपछि हुने बताइएको छ । उपमेयर कप महिला फुटबल प्रतियोगिताका खेल संयोजक एवम् फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार यसअघि सिदिङ्वा गाउँपालिकालाई १–० गोल अन्तरले पराजित फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकालाई २–० गोलले पराजित गर्दै मेरिङ्देन गाउँपालिका सेमिफाइनल पुगेका थिए ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको बिजेताले ट्रफीसहित एकलाख ११ हजार १०० रुपैयाँ र उपविजेताले ५५ हजार ५०० रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोला र मिक्वाखोला गाउँपालिका सहभागी भएनन् ।