|

ताप्लेजुङका विभिन्न क्षेत्रका वनमा डढेलो

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २८ । केही दिनयता ताप्लेजुङका वनहरुमा डढेलो लाग्न थालेको छ । सुख्खा मौसमसँगै जिल्लाका विभिन्न क्षेत्रमा रहेका सामुदायिक तथा राष्ट्रिय वनहरुमा डढेलो लाग्न थालेको हो ।
यहाँको पाथीभरा याङ्वरक–१ नाङ्खोल्याङ र वडा २ थेचम्बुको वनमा आइतबार आगलागी भएको छ । स्थानीयका अनुसार नाङ्खोल्याङस्थित त्रिबेणी सामुदायिक वन, सल्लेरी सामुदायिक वन र सँगै रहेको राष्ट्रिय वनमा आइतबार बिहानदेखि डढेलो (आगलागी) सुरु भएको हो । डढेलो वनभरि फैलिएको स्थानीय सीता राईले जानकारी दिनुभयो ।
यस्तै आइतबार नै थेचम्बुस्थित सिन्चेकु सामुदायिक वनमा पनि डढेलो लागेको छ । सिन्चेकु सामुदायिक वनमा लागेको डढेलो भने स्थानीय उपभोक्ता लगायतका जनशक्ति जुटेर नियन्त्रण लिएको सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । ओझाका अनुसार पछिल्लो दुई–तीन दिनयता विभिन्न क्षेत्रका सामुदायिक तथा राष्ट्रिय वनहरुमा डढेलो लाग्न सुरु भएको छ ।
मिक्वाखोला गाउँपालिकाको पापुङ, साँबा, लिबाङ र मेरिङ्देन गाउँपालिकाको थुकिमामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेला लागेको उहाँले जानकारी दिनुभयो । विभिन्न क्षेत्रका वनमा गरी हालसम्म करिव ८०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको उहाँले बताउनुभयो । वनमा लागेको डढेलोले बहुमूल्य जडीबुटी तथा वनस्पति र जंगल सखाप भएको छ । त्यस्तै सुस्म जीवहरु डढेर लोप हुने अवस्था सिर्जना भएको छ भने चराचुरुंगी लगायतका वन्यजन्तुलाई नराम्ररी असर पुगेको संरक्षणकर्मी बताउँछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts