संघर्षका कथादेखि स्वच्छव छबि बनाउन निर्वाह गर्ने भूमिका सम्मका बिषयबस्तुको समिश्रण ‘ठाँटीको घाम’उपन्यास

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २९ । गरिवी,कुसंस्कार,गाँउले परिवेश र त्यसभित्रको जीवन संघर्षमा उज्यालोको खोजी गर्ने जागरणमुलक उपन्यास ‘ठाँटीको घाम’लोकार्पण गरिएको छ ।

जागिरे दैनिकीबाट बचेको समय साहित्य क्षेत्रमा खर्चिने (नेपाल सरकारका शाखा अधिकृत) टंक भट्टराईद्धारा लिखित ‘ठाँटीको घाम’सृजनाका दृष्टीले तेस्रो भएपनि उहाँको पहिलो उपन्यास हो । उहाँका ‘साँझमा पारिलो तारा’ कविता संग्रह(२०६७) र ‘म पनि बग्दै छु साप्सु’कथा संग्रह(२०७३)भने प्रकाशित भई सकेका छन् । उपन्यासको जग भट्टराईको गाउँले जीवनका स्मृतिविम्बहरुमा आधारित छ । ५२ खण्ड र २ सय ४५ पृष्ठमा समेटिएको उपन्यास माझ किराँतको जीवनगाथा बताउने दस्तावेज हो । मकवानपुर, चौदण्डी र विजयपुर जस्ता राज्यहरुमा छरिदै तत्कालिन समयमा सुनकोशी नदीदेखि लिखु सम्मको भू–भागलाई वल्लो किरात,लिखु देखि अरुण सम्मको भू–भागलाई माँझ किरात र अरुण देखि टिष्टा नदीसम्मको भू–भागलाई पल्लो किराँत भनेर चिनिएको ईतिहाँस छ ।

खोटाङको खाल्लेमा जन्मिनु भएका भट्टराईले त्यहिँ माझ किराँतको संघर्षका कथालाई उपन्यासको सार बनाउनु भएको छ । उपन्यासको चित्रणमा केहि पात्रहरु फरक र काल्पनिक रुपमा उभिएपनि भट्टराईले खाल्लेमा करिव तीन दशकको समय बिताउने क्रममा जोडिएका मन,भोगेको परिवेश,त्यहाँको दैनिकी,समुदायले गर्ने संघर्ष र संघर्षका माध्यमबाट प्राप्त हुने सुखद् संयोग उपन्यासको भावभूमी हुन् । ‘साइँली’शब्दका भोको मानिने उहाँले साठी कटेकी साइँली बोजुलाई उपन्यासको पहिलो पात्रको रुपमा जोड्नु भएको छ । माझ किराँतमा मृत्यु संस्कार पछि बनाईने स्मृति चौतारोमा बसेर पारिलो घामको स्र्पश गर्न पाउँदाको आनन्द जस्तो हुन्छ,संघर्षबाट खारिएको जीवनमा त्यहिँ संघर्षको प्रतिफलबाट प्राप्त भएको सुख उत्तिकै मनखाने प्रकृतिको हुने उपन्यासको सन्देश हो ।

उपन्यासमा भट्टराईले स्मृति चौतारोलाई मात्र सम्झिनु भएको छैन,विकासका पूर्वाधारले अस्थित्व नामेट हुने क्रममा रहेका यस्ता सार्वजनिक स्थलको जोगावटको सन्देश समेत दिनु भएको छ । उपन्यास पुर्णतयाः जागरणमुलक रहेको बताउँदै पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले भन्नुभयो,संघर्ष हो जीवन,जीवन संघर्ष हो’भने झैं उपन्यास बिद्यमान समाजलाई सकारात्मक बाटोमा लैजाने सत्कर्मको भण्डारण हो’ । उपन्यासका समिक्षक  गौतमले देश,काल र परिस्थितिले निरास युवा पुस्तालाई आसा जगाउँदै समाज परिवर्तनको सन्देश दिने मुखपत्र बनेको टिप्पणी गर्नुभयो । उपन्यासले विकास,शुसासन,सामाजिक मर्यादा र समृद्धिको भाव पोखेको गौतमको बुझाई छ ।

अर्का समिक्षक तथा पाथीभरा बहुखी क्याम्पसका सहप्राध्यापक शान्तिराम नेपालले जीवन यात्राभित्र उज्यालोको खोजी नै ‘ठाँटीको घाम’रहेको बताउनुभयो । संघर्षका दौरानमा जन्मेदेखि उमेरबृद्धिका चरणसंगै मान्छेका सोच,योजना,संघर्ष र प्रतिफललाई उपन्यासको शब्द चित्र नबनाईएको नेपालले ठह¥याउनु भएको छ । भन्नुहुन्छ,ठेट नेपाली शब्द,पहाडी परिवेश,जीवन संघर्ष र संघर्षबाट प्राप्त नतिजा उपन्यासको सन्देश हो’ । पेट पाल्नका लागि गरिने मेलापात,लाहुरेको सपना,निजामति सेवा र अरब भूमीमा जीवन बिताउने हाम्रो समुदायका युवा पुस्तालाई आफ्नै माटोमा फर्कने सन्देश समेत उपन्यासमा छरिएको छ । उपन्यासमा भट्टराईले आर्थिक मितव्ययिता र पारदर्शीताकाका आयामहरु समेत पोख्नु भएको छ ।

उपन्यासकार भट्टराईले बाहिरी संसारको उज्यालोलाई मात्र पर्याप्त ठान्नु भएको छैन । मनलाई पखालेपछि मात्रै ब्रम्हाण्ड उज्यालो देख्ने साहित्यिक सोचले ठाँटीको घाम जन्माएको भनेर लेखकले जुन पेशाा वा व्यवसायमा भएपनि त्यसबिरुद्धको भ्रष्टीकरणको अन्त्य र शुद्धिकरण खोज्नु भएको छ । भाषा र शैलीले प्राञ्जल र मौलिक शब्दले भरिएको उपन्यासमा बहुबिबाह देखि अन्तर जातिय बिबाह सम्मका कथा उठाएर कु–संस्कार बिरुद्ध लड्न प्रेरित गरिएको छ ।

भट्टराई कथा,कविता र उपन्यास पछि गीत पनि लेख्नुहुन्छ । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी रहनु भएका भट्टराईको रचनामा ताप्लेजुङको पहिचान दिलाउने ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ बोलको गित पनि बजारमा आउन लागेका छ । वीरेन्द्र श्रेष्ठ र मिलन नेवारले गाएको उक्त गीतको म्युजिक भिडियो केहि समय पछि नै बजारमा आउने तयारीमा रहेको म्युजिक भिडियोका परिकल्पनाकार श्रेष्ठले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts