चित्लाङ फुटबल क्लवलाई टाईब्रेकरमा पराजित गर्दै फिदिम स्पोर्टिङ क्लव ताप्लेजुङ गोल्डकपको सेमीफाईनलमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १३ । राष्ट्रिय खेल र ए डिभिजन खेल समेत खेलेको खेलाडीले भरिएको चित्लाङ फुटबल क्लव काठमाडौंलाई टाईब्रेकरमा ४–३ ले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लव पाँचथर चौथो ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा स्थान बनाएको छ ।

फिदिम स्पोर्टिङ क्लव चौथो ताप्लेजुङ गोल्डकपमा सेमी फाइनल पुग्ने दोस्रो टोली बनेको छ । निर्धाररित समयमा दुबै टीमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो । चित्लाङका ५ मध्ये दुईवटा प्रहारले गोलको दिसा लिन सकेनन् । फिदिमका ४ खेलाडीको प्रहारले जाली चुमे । चित्लाङकातर्फबाट मिक्सो लिम्बू,चेतन थारु,किरण सुनारमा प्रहार गोलमा परिणत भए । दीपेश गुरुङको प्रहारलाई फिदिमका गोलरक्षक मिराक खजुमले गोलहुनबाट बिफल तुल्याउनुभयो । चित्लाङका गोलरक्षक प्रिसोको बाहिर पोष्ट भन्दा माथिबाट बाहिरियो । फिदिमका लागि निरोज लिङदेन,सुसन जवेगु,हितेन लिम्बू र अनिस परियारका प्रहारले गोलको दिशा लियो ।

यसअघि निर्धारित ९० मिनेटको खेलको मध्यान्तर अघि फिदिम चित्लाङ माथि पूरै हावी भएको थियो । मध्यान्तरपछिको खेलको सुरुआती समय फिदिम माथि चित्लाङ हावी भयो । दरिलो रक्षापंक्ति र फिदिमका गोलरक्षक खजुमको उत्कृष्ट बचाउका कारण अनुभवी र राष्ट्रिय खेल खेलिसकेका खेलाडीले भरिएको चित्लाङ फुटबल क्लव क्वाटर फाईनलबाटै बाहिरिएको छ । टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेल्नु भएका फिदिमका गोलरक्षम खजुमले म्यान अफ द म्याच बन्दै ७ हजार रुपैयाँ बराबरको अलैंची उपहार पाउनु भएको छ । नवयुग श्रेष्ठ,सञ्जय श्रेष्ठ,बिमल पाण्डे,दीपेश गुरुङ,निराजन धामी,चेतन थारु,प्रिसोसहितका अनुभवी खेलाडीले भरिएको चित्लाङले ताप्लेजुङको मैदानमा पहिलोपटक खेलेको हो ।

ताप्लेजुङको फुङलिङमा शुक्रवारदेखि जारी गोल्डकपको दोस्रो क्वाटर फाइनल खेल अन्तरगत समूह ‘बी’को खेलमा यसअघि समूह ‘ए’को खेलमा आयोजक ताप्लेजुङ–११ को टीमलाई २–१ ले पराजित गर्दै भारत कालिम्पोङको जर्जियन युनाईटेड फुटबल क्लव सेमी फाइनलमा प्रवेश गरिसकेको छ । आइतवार हुने तेस्रो क्वाटर फाईनल खेलमा समूह ‘ए’मा रहेको सातदोबाटो फुटबल क्लवले सलहेस युवा क्लव सिराहाको सामना गर्ने छ । सलहेस तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको डिफेण्डिङ च्याम्यिपन पनि हो । भदौ १९ गते सकिने प्रतियोगिता विजेताले नगद ७ लाख २ हजार ८३ र उपबिजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको एकथान मोटर साइकल उपहार प्रदान गरिने छ ।

Similar Posts