| |

लिम्बुदिनमा जेष्ठ नागरिकलाई सम्मान साथै स्वास्थ्य परीक्षण

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, असोज २९ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै उहाँहरुको स्वास्थ्य परीक्षण गरिएको छ । वडा कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी वडाभित्रका जेष्ठ नागरिकलाई सम्मान र उनीहरुको स्वास्थ्य परीक्षण गरेको हो ।
लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर इधिङगो लिम्बूका अनुसार वडाभित्रका ७५ वर्षमाथि उमेरका ५८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । यस्तै पाँचजना पूर्ण अपांगता (शारीरिक रुपमा अशक्त) भएका नागरिकसमेलाई सम्मान गरिएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
उहाँकाअनुसार जेष्ठ नागरिक तथा अपांगता भएका पुरुषलाई न्यानो कपडा ज्याकेट र महिलालाई स्वेटर वितरण गरी सम्मान गरिएको हो । सम्मानित हुनेहरुलाई गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) लगायतले न्यानो कपडा वितरण गर्नुभएको थियो ।
यसैगरी जेष्ठ तथा अपांग नागरिकको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । स्थानीय स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको उपस्थितिमा स्वास्थ्या परीक्षणसँगै उहाँहरुलाई औषधिसमेत निःशुल्क रुपमा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, विद्यालयका प्रधानाध्यापकलगायत सहभागी हुनुभएको पनि वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts