| |

फुङ्लिङ नगरपालिका–८ दोखुका सर्वसाधारणले पाए घर आँगनबाटै स्वास्थ्य परीक्षण सुविधा

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, असोज २७ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुका सर्वसाधारणले घर आँगनबाटै आफ्नो स्वास्थ्य परीक्षण गर्ने सेवा प्राप्त गरेका छन् । वडा कार्यालयले घुम्ती स्वास्थ्य शिविर आयोजना गरेपछि वडाबासी सर्वसाधारणले घर आँगनबाटै स्वास्थ्य परीक्षण गराउने सुविधा प्राप्त गरेका हुन् ।
वडा कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको प्राविधिक सहयोगमा शुक्रबारदेखि दोखुमा निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको हो । स्वास्थ्य शिविरमार्फत वडाबासी सर्वसाधारणको सुगर (मधुमेह), ब्लड प्रेसर (उच्च रक्तचाप) र आँखा परीक्षण गरिँदै आएको छ ।
शनिबार सम्ममा शिविरमार्फत करिव दुई सय बढीको स्वास्थ्य परीक्षण गरिएको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य परीक्षण सेवा लिएकामध्ये हालसम्म एकसय ६७ जनाको आँखा परीक्षण गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा कार्यरत कर्मचारी काजी थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन शुक्रबार ५१ जना र दोस्रो दिन शनिबार एकसय १६ जनाको आँखा परीक्षण गरिएको छ ।
आँखा परीक्षणका क्रममा १३ जनामा मोतियाविन्दु रोगको समस्या भएको विरामी फेला परेका पनि थेबेले जानकारी दिनुभयो । उहाँले अब चाँडै डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जिल्लामा आँखा शिविर सञ्चालन गर्ने र सो शिविरमार्फत मोतियाविन्दुको समस्या भएकाहरुको शल्यक्रियासहित उपचार सेवा प्रदान गरिने बताउनुभयो । यस्तै आँखाका समस्या भएका ४७ जनालाई चस्मा निःशुल्क रुपमा वितरण गरिएकोसमेत उहाँले जानकारी दिनुभयो । आँखाका विरामीलाई औषधि पनि निःशुल्क वितरण गरिएको छ ।
फुङ्लिङ नगरपालिका ८ का वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार स्वास्थ्य शिविर सोमबारसम्म सञ्चालन गरिने छ । वडाबासी नागरिकले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकुन् र स्वास्थ्य समस्या भएकाहरुले समयमै उपचार गराउन पाउन् भन्ने उद्देश्यसहित घुम्ती शिविर आयोजना गरिएको वडाध्यक्ष सुनुवारको भनाइ छ ।
सुगर र प्रेसरसम्बन्धी स्वास्थ्य परीक्षणमा स्वास्थ्यकर्मी देउमान गुरुङ र सपना फाबेन संलग्न रहँदै आउनुभएको छ भने आँखा परीक्षणमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका प्राविधिक एवम् कर्मचारी काजी थेबे र देउमान राई संलग्न हुनुहुन्छ । टोल टोलमा पुगेर सञ्चालन गरिँदै आएको स्वास्थ्य शिविरअन्तर्गत पहिलो र दोस्रो दिन दोखुको मेवाराजा, सालिम्मे, खोदम्बु, घुमाउने, खोलिपाखा, ल्याङ्बा, बरबोटे लगायतका टोलहरुमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts