ताप्लेजुङमा उद्यमीलाई उद्यमशीलता विकास तालिम प्रदान
-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २१ । ताप्लेजुङमा उद्यमीहरुलाई उद्यमशीलता विकास तथा व्यवसायिक योजना तयारीसम्बन्धी तालिम प्रदान गरिएको छ । एनसाव नामक संस्थाले जिल्लामा विभिन्न उद्यम गर्दै आएका उद्यमीलाई तालिम प्रदान गरेको हो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, ताप्लेजुङको समन्वयमा एनसावले उद्यमीहरुलाई तालिम प्रदान गरेको हो । हिमाली जडीबुडीको संरक्षण र दिगो व्यापार परियोजनाअन्तर्गत उद्यमीहरुलाई उद्यमशीलता विकास तालिम प्रदान गरिएको एनसावका जिल्ला प्रतिनिधि एवम् वन अधिकृत आयु्ष भट्टराईले जानकारी दिनुभयो ।
उद्यमीहरुको दिगो उद्यम र व्यवस्थित बजार प्रवन्ध मिलाउनमा सहयोग पु¥याउने उद्देश्यले उद्यमशीलता विकास तथा व्यवसायिक योजना तयारीसम्बन्धी तालिम प्रदान गरिएको एनसावका जैविक विविधता प्रवन्धक दीपेश प्याकुरेलले बताउनुभयो । प्याकुरेलका अनुसार उद्यमलाई दिगो बनाउने र बजार व्यवस्थित गर्न व्यवसायिक योजना निर्माण लगायतका विषयमा उद्यमीहरुलाई तालिम प्रदान गरिएको छ ।
जडीबुटी, होटल, दूध डेरी, ढाकालगायत स्थानीय उत्पादनसँग सम्बन्धित उद्यम सञ्चालन गर्दै आएका उद्यमीलाई सहभागी गराई तालिम सञ्चालन गरिएको छ । तालिमले जिल्लाका उद्यमीलाई आफ्नो उद्यमलाई दिगो र व्यवस्थित बजार प्रवन्ध मिलाउने योजना बनाउनमा सहयोग पुग्ने विश्वास फेकोफनका जिल्ला अध्यक्ष सुरज ओझाले लिनुभएको छ ।
तालिममा चण्डिका आमगाइँ लगायतले सहजीकरण गर्नुभएको थियो । फुङ्लिङ बजारस्थित होटल प्यारिजको सभाहलमा सञ्चालित तालिम मङ्गलबार सुरु भई शुक्रबार सम्पन्न गरिएको हो । यता चार दिने तालिमले उद्यम तथा व्यवसायलाई दिगो र बजार व्यवस्थित बनाउने योजना निर्माण गर्नेजस्ता क्षमता हासिल भएको उद्यमी विष्णु श्रेष्ठले बताउनु्भयो ।