| |

दोखुका किसानलाई कृषि सामग्री वितरण

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, चैत ४ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुका किसानलाई कृषि प्रयोजनका सामग्री वितरण गरिएको छ । कृषि क्षेत्रमा संलग्न स्थानीय किसानलाई टनेल, ड्रमलगायतका सामग्री वितरण गरिएको हो ।
फुङ्लिङ नगरपालिकाको चालू आर्थिक वर्षको कृषि लक्षित कार्यक्रममार्फत स्थानीय किसानलाई कृषि प्रयोजनको सामग्री वितरण गरिएको वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । वडाध्यक्ष सुनुवारका अनुसार स्वयम् किसानको समेत लागत साझेदारीमा कृषि प्रयोजनका सामग्री वितरण गरिएको हो ।
लागत साझेदारीअनुसार किसानको २५ प्रतिशतसमेत पाँचलाख रुपियाँ बजेटले ३५ थान प्लास्टिक टनेल, पाँचसय लिटर क्षमताको २० थान ड्रम र केही पाइप गरी ६० घरधुरीलाई वितरण गरेको वडाध्यक्ष सुनुवारले बताउनुभयो । किसानको आवश्यकताअनुसार कोहीलाई टनेल, कोहीलाई ड्रम र पानीको पाइप वितरण गरिएको उहाँले बताउनुभयो ।
करिव ७५० घरधुरी बसोबास रहेको वडामा अधिकांस परिवार कृषिमा संलग्न रहेका छन् । वडाबासी किसानलाई सहयोग पु¥याउने र कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषि लक्षित कार्यक्रम छनोट गरी किसानलाई कृषि प्रयोजनका सामग्री वितरण गर्न थालेको वडाध्यक्ष सुनुवारले बताउनुभयो । उहाँले पाँच वर्षको आफ्नो कार्यकालभित्र वडाका सबै किसानलाई कृषि प्रयोजन सामग्री वितरण गर्ने योजना बनाएको पनि जानकारी दिनुभयो ।
दोखु गाउँ सदरमुकाम फुङ्लिङबजार नजिकको बस्ती हो । बजार नजिक रहेको गाउँ भएकाले यहाँका किसानले व्यावसायिक पेशाकै रुपमा फलफुल, तरकारीजन्य वस्तुलगायत कृषि उपजहरु उत्पादन गर्ने गर्दछन् । कृषि उपज वस्तुहरु बिक्री गरेरै हुने आम्दानीले घर व्यवहार चलाउन र आत्मनिर्भर बन्नमा सहयोग पुगिरहेको स्थानीय किसान बताउँछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts