राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङ अध्यक्षमा सेन्दाङ चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ३ गते । नेकपा (एमाले) सम्वद्ध नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको अध्यक्षमा मदनकुमार सेन्दाङ लिम्बू चयन हुनुभएको छ । संगठनको १४ औं जिल्ला अधिवेशनले सेन्दाङ अध्यक्ष रहेको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा क्षितिजकुमार गौतम, महिला उपाध्यक्षमा पूजा साम्सोहाङ, सचिव रुपेन्द्र वनेम, सहसचिव माया तामाङ, कोषाध्यक्ष नरेन्द्रकुमार अधिकारी र सह-कोषाध्यक्षमा सरला नेपाली चयन हुनुभएको छ । संगठनको ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको नेपाल राष्ट्रिय शिक्षक संगठन, कोशी प्रदेश समितिका अध्यक्ष महेन्द्रप्रकाश गौतमले जानकारी दिनुभयो ।
संगठनको विधानमा भएको व्यवस्थाअनुसार जिल्ला अधिवेशनबाट निर्वाचित २४ सदस्यीय कार्यसमितिबाहेक चारजना केन्द्रीय प्रतिनिधि र नौ जना पालिका अध्यक्ष जिल्ला कार्यसमितिको पदेन सदस्य हुने गौतमले बताउनुभयो । संगठनका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद भण्डारीले जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनमा एमाले पोलिटव्युरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, संगठनका कोशी प्रदेश अधयक्ष गौतम, एमाले जिल्ला कमिटी उपाध्यक्ष दीपेन्द्र पोमु, सचिव सन्तोष चाम्लिङ राई लगायतका जिल्ला नेतृत्वको उपस्थिति रहेको थियो । संगठनको जिल्ला अधिवेशन भने शनिबार राति अबेर नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।