कोरोना संक्रमणका कारण रोकिएको ताप्लेजुङ रन मंसिर १८ बाट सुरु हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ९ । कोरोना संक्रमणका कारण रोकिएको ताप्लेजुङ रन यहिँ मंसिर १८ गते शनिवार बिहान ७ बजेबाट फेरी सुरु हुने भएको छ । संक्रमणका कारण स्थगित भएको रन फेरी सुरु गर्ने निर्णय भएको ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवासले जानकारी दिनुभयो । २०७५ साल चैत ३० गतेबाट सुरु भएको रनले ४९ औं हप्ता पूरा गर्दा कोरोना संक्रमण ब्यापक बनेपछि रोकिएको थियो । ताप्लेजुङ रन नाम दिएर सुरु भएको यो अभियान न त कुनै प्रतियोगिता हो,नत उमेरका नाताले सहभागिताका लागि बन्देज नै हुन्छ ।‘स्वस्थ्य शरिरका लागि सातामा एकदिन’भन्ने नाराका साथ दौडने अभ्यास स्वरुप सुरु गरिएको यो अभियान संक्रमण केहि कम हुन थालेपछि फेरी सुरु गर्न लागिएको खवासले बताउनुभयो । उहाँका अनुसार जनस्वास्थ्यका मापदण्डको पालना भने अनिवार्य गरिएको छ । मास्क र स्यानीटाइजरको अनिवार्य प्रयोग तथा भौतिक दुरी कायमलाइ सकेसम्म मापदण्ड अनुसारकै बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
खवासका अनुसार साविक झैं दौडमा तीन उमेर समुह बिभाजन गरेर त्यसको अभिलेख राखिन्छ । बालबच्चा उमेर समुह,बयस्क उमेर समुह र जेष्ठ नागरिक उमेर समुह भनेर दौडमा सहभागीलाई बिभाजित गरिन्छ । हरेक शनिवार फुङ्लिङको सडकमा दौडने इच्छा भएका सबैले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिता नभएपनि दौडमा सहभागी भई निश्चित प्रकृया पार गरेकाहरुको अभिलेख ताप्लेजुङ रनले राख्ने छ । वीरेन्द्रचौकबाट सुरु भएको दौड हेलिप्याड गेट पुग्दा त्यहाँ रहेका स्वयंसेवकले सहभागीको साथमा भएको चिट लिनेछन् र अर्को चिट थमाउने छन् । त्यो चिटमा बीरेन्द्रचौकबाट दौडन सुरु भएको समय समेत उल्लेख गरिएको सहभागीको बिवरण हुने छ । हेलिप्याड गेटबाट अर्को चिट लिएर माथिल्लो रोड हुदै पराजुली चौकबाट बीरेन्द्रचौक सम्म पुगेपछि रनका स्वयंसेवकले दौडमा सहभागीको सम्पूर्ण बिवरण समेटेर अभिलेख राख्ने छन् । नेपालमा यस्तो प्रकारको दौडको सुरुवात धरानबाट सुरु भएको मानिन्छ । अहिले ताप्लेजुङ सहित दमक, भोजपुर र पोखरामा समेत विस्तार भएको छ । बेलायती सेनामा कार्यरत फुङलिङ नगरपालिकाका दीपेन्द्र गुरुङको परिकल्पनामा ताप्लेजुङमा यो अभियान सुरु भएको ताप्लेजुङ रनले जानकारी दिएको छ । गुरुङका अनुसार बेलायतमा ‘पार्क रन’ को नाममा यस्तो दौड हुने गरेको छ ।