टिकट प्याकेज बाहेक लाखेजात्रा सञ्चालन समितिले प्रवेश शुल्कबाट उठायो ३८ लाख बढी रकम

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २० । आयोजक लाखेजात्रा सञ्चालन समितिले चौथो ताप्लेजुङ गोल्डकपका क्रममा टिकट प्याकेज बाहेक प्रवेश शुल्कबाट ३८ लाख बढी रकम संकलन गरेको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार क्वाटर फाइनलमा ४ खेलबाट ११ लाख ९१ हजार २ सय रुपैयाँ संकलन भएको छ । सेमीफाइनलमा दुई खेलबाट ६ लाख ५ हजार ७ सय र फाइनल खेलबाट २० लाख ३३ हजार रुपैयाँ संकलन भएको शेर्पाले जानकारी दिनुभयो । यसो गर्दा लाखेजात्रा सञ्चालन समितिले प्रवेश शुल्क वापत मात्र ३८ लाख २९ हजार ९ सय रुपैयाँ संकलन गरेको छ । कोषाध्यक्ष शेर्पाका अनुसार पहिलो खेलमा ३ लाख ५५ हजार ८ सय,दोस्रो खेलमा १ लाख ८८ हजार २ सय,तेस्रो खेलमा २ लाख ६१ हजार ४ सय र चौथो खेलमा ३ लाख ८५ हजार ८ सय रुपैयाँ संकलन भएको थियो । सेमीफाइनलका दुई खेलमध्ये पहिलो खेलमा १ लाख ३३ हजार ५ सय दोस्रो खेलमा ७ लाख ७२ हजार २ सय रुपैयाँ संकलन भएको थियो ।

आयोजकले क्वाटर फाइनलका ४ खेलका लागि प्रत्येक खेलको जनही २ सय,सेमीफाइनलका दुई खेलमा प्रत्येक खेलको ३ सय र फाइनल खेलमा ५ सयको दरले टिकट दर निर्धारण गरेको थियो । टिकट प्याकेजतर्फ भने सहयोग सहित सबै खेल अवलोकनका लागि जनही ३ हजार रुपैयाँका दरले टिकट दर निर्धारण भएको थियो । टिकट प्याकेजतर्फ कति टिकट बिक्री भएको भन्ने बारेमा भने एकिन भइसकेको छैन । प्रतियोगिताका बिजेताले ७ लाख २ हजार ८३ र उपबिजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था थियो । प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई ७ हजार रुपैयाँ मूल्य बराबरको अलैंची प्रदान भएको थियो भने बिधागततर्फ ७ बिधामाउत्कृष्ट हुनेलाई नगद १५ हजार रुपैयाँ सहितको पुरस्कार दिईएको थियो । चौथो ताप्लेजुङ गोल्डकपमा गतबर्षको बिजेता सलहेस युवा क्लव सिराहाले उपाधि यात्रा दोहो¥याएको छ । फिदिम स्पोर्टिङ क्लव पाँचथर उपविजेता बनेको छ ।

Similar Posts