| |

साम्सोहाङ भए सामाजिक विकास मन्त्री

अरुलाई पनि शेयर गरौ !

विराटनगर, भदौ ११ । ताप्लेजुङ निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ प्रदेश १ सरकारको सामाजिक विकास मन्त्री बन्नुभएको छ । बिहीबार मात्रै प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएका भीमप्रसाद आचार्यले शुक्रबार मन्त्रीमन्डल विस्तार गर्दै ताप्लेजुङका साम्सोहाङलाई सामाजिक विकास मन्त्री नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यले शुक्रबार साम्सोहाङसहित दुई जना मन्त्री नियुक्त गर्नुभएको छ । । तेह्रथुमका लछुमन तिवारीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । दुवैजना मन्त्रीलाई शुक्रबार नै पद तथा गोपनियताको सपथ गराइएको छ ।

विगतमा माधवकुमार नेपाल समूहमा रहेर पार्टी विभाजनपछि एमालेमै रहने निर्णय गर्नुभएका दुईजना भाग्यमानी बन्नुभएको छ । मुख्यमन्त्री नियक्त भएको एकदिन पछि उहाँहरु मन्त्री बन्नु पाउनुभएको छ । त्यस्तै एमाले अध्यक्ष केपी ओलीले संखुवसभाका तुलसी न्यौपानेलाई पनि मन्त्री नियुक्त गर्न निर्देशन दिनुभएको तर मुख्यमन्त्री आचार्यले अस्वीकार गर्नुभएको बुझिएको छ ।

यता आचार्यको नेतृत्वमा प्रदेश १ सरकार गठन भए पनि सरकारको आयु भने अनिश्चित जस्तै छ । प्रदेशसभामा हाल रहेका एमालेका ५ जना सांसद मात्र नयाँ पार्टी अर्थात माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेको अवस्थामा आचार्य नेतृत्वको सरकारले बहुमत गुमाउने अवस्था छ । प्रदेशसभाको संसदीय दल विभाजन भएपछि एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम रहेको ९२ जनामध्ये बहुमतको लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । त्यसैले नवगठित प्रदेश सरकारको आयु अनिश्चित रहेको बताइएको छ ।

हाल प्रदेशसभामा कायम रहेको संख्यामध्ये एमाले ५१, काँग्रेस २१, माओवादी केन्द्र १५, जसपा ३ र राप्रपा तथा लिम्बुवानका १-१ जना सदस्य छन् । माओवादी केन्द्रबाट निर्वाचित सदस्य टंक आङ्बुहाङ भने एमालेमा लागेका कारण पार्टीले कारबाही गरेपछि बर्खास्त भई सक्नुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts