| |

उदाहरणीय बन्दै सिरिजंगाका टोल विकास संस्था, काम सम्पन्न भएपछि बचत भएको रकम पालिकालाइ फिर्ता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, साउन ३० । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका टोल विकास संस्थाहरु आर्थिक मामिलामा अनुशासित,मितव्ययी र इमान्दार देखिन थालेका छन् । उपभोक्ता समितिकै रुपमा काम गर्ने बैधानिक जिम्मेवारी पाएका टोल विकास संस्थाले सम्झौता अनुसारको काम सम्पन्न गरी बचत भएको रकम अनुदान लिएको निकायलाइ नै फिर्ता समेत गरेर आफुलाइ अनुशासित,मितव्ययी र इमान्दार पुष्टी गरेका हुन् । सिरिजंगा गाउँपालिका वडा नं १ मा रहेको पाथीभरा टोल विकास संस्थाले सम्झौता अनुसारको कार्य सम्पन्न गरेर बचत भएको १ लाख रुपैंया गाउँपालिकालाइ फिर्ता गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार यो टोल विकास संस्थालाइ बाँसको मुढा उत्पादन तालिम कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले २ लाख २५ हजार रुपैंया अनुदान उपलब्ध गराएको थियो । सो अनुदान रकमबाट १५ जना स्थानीयले २० दिन सम्म मुढा उत्पादन तालिम लिएका थिए । सम्झौता अनुसारको तालिम सम्पन्न हुँदा १ लाख २५ हजार रुपैंया मात्र खर्च भएपछि बचत भएको १ लाख रुपैंया टोल विकास संस्थाले गाउँपालिकालाइ नै फिर्ता दिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो । टोल विकास संस्थाका अध्यक्ष हरि उप्रेतीले तालिम सञ्चालनको क्रममा सम्झौता अनुसारको पूरै रकम खर्च नभएकोले उब्रिएको रकम आफुहरुले पालिकालाइ नै फिर्ता गरेको जानकारी दिनुुभयो । तालिमका क्रममा ३० थान मुढा उत्पादन भएको थियो । यहिँ उत्पादन मध्ये टोल विकास संस्थाले ५ थान मुढा पालिकालाइ उपहार स्वरुप पालिकालाइ दिएको छ । गाउँपालिकाले टोल विकास संस्था गठन तथा परिचालन सम्वधी ऐन २०७६ मार्फत पालिका भरी ७२ वटा टोल विकास संस्था गठन गरेको छ । ८ वटा वडा रहेको सिरिजंगा गाउँपालिकाका प्रत्येक वडामा ९ वटाका दरले ७२ वटा टोल विकास संस्था गठन भएका छन् । साविकका ८ वटा गाउँ विकास समिति मिलेर बनेको गाउँपालिकामा साविकका पुराना वडाहरुलाइ नै एउटा टोल विकास संस्थाको क्षेत्र मानेर साविकका ७२ वटा वडा क्षेत्र अहिले प्रत्येक एक टोल विकास संस्थाको कार्यक्षेत्रमा समेटिएका छन् । गाउँपालिकाले १० लाख रुपैंया भन्दा तल बजेट रहेका योजनाको कार्यान्वयन नै तिनै टोल विकास विकास संस्थामार्फत कार्यान्वयन समेत गर्दै आएको छ । त्यहिँ भएर टोल विकास संस्थाले उपभोक्ता समितिको बैधानिक अधिकार पाएका छन् । अधिकाँस क्षेत्रमा उपभोक्ता समितिले सम्झौता भएको रकम बराबर नै खर्च भएको वा रकम अपुग भएको आर्थिक बिबरण अनुदान लिने निकायमा पेश गर्छन् । उपभोक्ता समितिकै रुपमा काम गरेको सिरिजंगा वडा नं १ सिनामको पाथीभरा टोल विकास संस्थाले भने सम्झौता अनुसारको काम सम्पन्न गरी बचत भएको रकम अनुदान लिएको निकाय गाउँपालिकालाइ फिर्ता गरेर उदाहरणीय बनेको छ ।

फोटो ः सम्झौता अनुसारको काम सम्पन्न गरी बचत भएको रकम र तालिममा बुनिएका मध्ये ५ थान मुढा उपहार सहित पालिका पुग्नु भएका पाथीभरा टोल विकास संस्थाका अध्यक्ष हरि उप्रेती ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts