ताप्लेजुङमा दुई मतदान स्थल थपिए,मतदाताको संख्या ८८ हजार २ सय ८५ कायम

ताप्लेजुङ,असोज १ । गत स्थानीय निर्वाचनमा भन्दा आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको मतदाता संख्या करिव एकहजार चारसयले घटेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ताप्लेजुङको मतदाता संख्या ८८ हजार २ सय ८५ कायम भएको छ । जबकी गत स्थानीय तहको निर्वाचनमा यहाँको मतदाता संख्या ८९ हजार ६ सय ८० रहेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार आउँदो निर्वाचनका लागि ४७ हजार ८० पुरुष र ४१ हजार २ सय ५ महिला मतदाता कायम भएका छन् । स्थानीय तह निर्वाचन पछि ताप्लेजुङमा दुईवटा मतदान स्थल थप भएका छन् । यो संगै यहाँ ७५ वटा मतदान स्थल कायम भएका छन् ।

मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले स्थानीय तहको अगुवाई र समन्वयमा सर्वदलिय सर्वपक्षिय छलफलमार्फत मतदान स्थल थप गर्न फुङलिङ नगरपालिकाको अवडा नं ९ स्थित शिव आधारभूत बिद्यालय र मिक्वाखोलाको पापुङस्थित सिम्बुक प्रावि मतदान स्थल थप गर्न सिफारिस गरेको थियो । सोहि अनुसार मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान केन्द्र भने १ सय २३ वटा कायम भएका छन् ।

२०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ७८ हजार ३ सय ९७ मतदाता थिए । गत स्थानीय तहको निर्वाचनको मतदाता संख्या भन्दा अद्यावधिक पछि आउँदो निर्वाचनका लागि १ हजार ३ सय ९५ मतदाता घटेपछि २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा भन्दा ९ हजार ८ सय ८८ मतदाता थपिएका छन् ।

Similar Posts