तेम्बाका आगलागी पीडितलाई सहयोग जुट्ने क्रम जारी

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको वडा नं ४ साँवास्थित तेम्बाका आगलागी पीडितलाई सहयोग जुट्ने क्रम जारी रहेको छ ।

तेम्बाका आगलागी पीडितका लागि मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुका वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फेको अग्रसरतामा २ लाख १३ हजार ४ सय ७० रुपैयाँ सहयोग रकम प्रदान गरिएको छ । मेरिङदेन गाउँपालिकाका पूर्व प्रवक्ता समेत रहनु भएका स्थानीय सूर्यमान बराईलीका अनुसार आगलागी पीडित ६ परिवारलाई प्रति परिवार ३५ हजार ५ सय रुपैयाँका दरले बितरण गरिएको छ । तेम्बाका आगलागी पीडितलाई ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको संयोजनमा संकलित १ लाख ६ हजार रकम समेत हस्तान्तरण गरिएको छ ।

केन्द्रका अध्यक्ष बलबहादुर तामाङसहितको सरोकार केन्द्रको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो । यसअघि आगलागी पीडितलाई नेपाली काँग्रेस,नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी सहितका राजनीतिक दलको अग्रसरतामा संकलित रकम हस्तान्तरण गरिएको छ भने कोशी प्रदेश सरकारका मन्त्री खगेनसिंह हाङगामले समेत सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । बिभिन्न संघसंस्थाहरुले लत्ताकपडा,भाडावर्तन सहितका सामग्री समेत सहयोग गरेका छन् । गत मंसिर २ गते राति भएको आगलागीमा तेम्बाका ४ घर जलेर नष्ट भएका थिए । ४ घरमा ६ घर परिवार बस्ने गर्नुहुन्थ्यो ।

Similar Posts