सिरिजङ्गामा बसाँइ सराई दर्ताका लागि जग्गा अनिवार्य
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २२ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्रमा बसाँइ सरी आउनेहरुका लागि जग्गा खरिद गर्नुपर्ने सहितका मापदण्ड बनाएको छ ।
पालिकाले बसाँइ सरी आउने मापदण्डमा केहि कुरा नखोलेपनि पालिका क्षेत्रमा सञ्चालित जलविद्युत परियोजनामा शेयर लगाउनका लागि अस्थायी बसाँइ सराई हुन सक्जे जोखिमको आशंकामा कार्यपालिकाले निर्णय गरी बसाँइ सम्वन्धी नयाँ मापदण्ड बनाएको हुनसक्ने आशंका गरिएको छ । प्रमुख प्रशाकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुुसार अब पालिका क्षेत्रमा बसाँइ सरी आउनेहरुमध्ये कुनै एक व्यक्तिका नाममा सम्वन्धित वडा क्षेत्र भित्रको कम्तिमा ६ महिना अगाडि जग्गा खरिद गरेको हुनुपर्ने छ । यस्ता व्यक्तिको घर जग्गा कायम भएको भनी वडाध्यक्षले प्रमाणित गरेको कागज अनिवार्य हुनुपर्ने मापदण्ड पालिकाले बनाएको छ ।
कार्यपालिकाले जेठ १९ गते गरेको निर्णय पालिकाले सिरिजङ्गा राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । पालिकाले उल्लेखित मापदण्ड पूरा गरी आउने लाभग्राहीको मात्र बसाँइ सराई दर्ता गर्ने भएको छ । गाउँपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ मा भएको व्यवस्था अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा(२) च(३)मा भएको व्यवस्था अनुसार मापदण्ड बनाई लागु गरेको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ मा गाउँपालिका तथा नगरपालिकाको काम,कर्तव्य र अधिकार सम्वन्धी व्यवस्था गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा(२) च(३)मा जन्म,मृत्यु,बिबाह,सम्वन्ध बिच्छेद,बसाँइ सराई दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई हुने उल्लेख गरिएको छ । सोहि प्रावधानलाई टेकेर पालिकाले पालिका क्षेत्र भित्र बसाँइ सराई व्यवस्थापनका लागि नयाँ मापदण्ड बनाई थप व्यवस्थित गर्ने योजना बनाईएको सिरिजङ्गाले जनाएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाँइ नामै ‘बसाइँ सराई’भएकोले बस्ने ठाउँ सारेको स्पष्ट यकिन हुनु कानुनले नै निर्दिष्ट गरेको बिषय भएको बताउँनुहुन्छ ।