ताप्लेजुङमा आँखा स्वास्थ्य शिविर: ४ सयको परीक्षण गर्दा ८५ जनाको आँखाको शल्यकृया गर्नुपर्ने देखियो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ६ । शनिवारबाट ताप्लेजुङमा सञ्चालन भइरहेको चारदिने आँखा स्वास्थ्य शिविरको दोस्रो दिन करिव ४ सय जनाले आँखाको परीक्षण गराएका छन् ।
आँखाको परीक्षण गराउन नाम दर्ता गरेका ३ सय ९८ जनामध्ये ८५ जनालाई मोतियाबिन्दुसहितको आँखाको शल्यकृयाका लागि सिफारिस गरिएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेका अनुसार २ सय ९ महिला र १ सय ८९ पुरुषले आँखा परीक्षणका लागि नाम दर्ता गराएका हुन् । ८५ जनालाई आँखाको शल्यकृयाका लागि सिफारिस गरिएको र शल्यकृया जारी रहेको नेपाल नेत्रज्योति संघले जनाएको छ ।
शिविरमा विश्व विख्यात नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुईत,उहाँका छोरा डाक्टर सागर र अमेरिकी नेत्र चिकित्सक डाक्टर जेएफको टोलीले शल्यकृया गरिरहेको छ । शिविरको पहिलो दिन शनिवार ३ सय ५६ जनाले आँखाको परीक्षणका लागि नाम दर्ता गराउँदा ६८ जनाको आँखाको शल्यकृया भएको थियो । सिफारिस गरिएका कतिपयमा सुगर र प्रेसरको समस्याका कारण परीक्षणकै दिन शल्यकृया गर्न असम्भव समेत हुने गर्छ । सुगर र प्रेसरको सन्तुलन कायम भएपछि शल्यकृया गर्न सकिने चिकित्सले जनाएका छन् ।