|

आमाको बार्षिक पुण्यतिथिमा रञ्जनाद्धारा एक मृगौला पीडितको उपचारका लागि पन्ध्रहजार रुपैंया सहयोग

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन १४ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ टुक्रे स्थायी घर भइ हाल बुद्धचौक बस्दै आउनु भएकी रञ्जना राईले आफ्नी आमा मानमायाको चौथो बार्षिक पुण्यतिथिमा मृगौला पीडित कल्पना राईको उपचारका लागि १५ हजार रुपैंया सहयोग गर्नु भएको छ ।

फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेप लावाजिन निवासी धनबहादुर राई(अनाम कान्छा)की श्रीमति कल्पनाको उपचारका लागि रञ्जनाले १५ हजार रुपैंया नगद सहयोग गरेको कल्पना बचाउ अभियानका अभियान्ता तेञ्जिङ वालुङ शेर्पाले जानकारी दिनुभयो । रञ्जनाले सामाजिक सञ्जालमार्फत मृगौला रोगले ग्रसित कल्पनाले घरको आर्थिक अवस्था कमजोर भई उपचारकै लागि सहयोगका लागि याचना गरिरहेको बेला आफुले स्वर्गीय आमाको सम्झनामा उक्त रकम सहयोग गरेको बताउनु भएको छ । रञ्जनाका श्रीमान् शंकर बैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहनु भएको छ । आमाको चौथो बार्षिक पुण्यतिथिका दिन रञ्जनाले ताप्लेजुङ अस्पतालमा उपचारार्थ भर्ना भएकी कल्पनाका आफन्तलाई यो रकम हस्तान्तरण गर्नु भएको छ ।

यसैबीच,कल्पना बचाउ अभियान अन्र्तगत वालुङ सहितका अभियान्ताहरुको अगुवाईमा १ लाख ३ हजार रुपैंया सहयोग संकलन गरी कल्पनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ । कल्पनाको उपचारका लागि सहयोग गर्न चाहनेहरुले वालुङको मोवाइल नम्बर ९८४२६३९८२६ मा सम्पर्क गर्न सकिने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts