बिदेशबाट आएकालाई पीसीआर र आरडीटी परीक्षणको रिर्पोट आएपछि मात्रै पालिकातर्फ पठाईने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २९ । कोभिड–१९ को पहिचानका लागि गरिने पीसीआर परीक्षणको दाहेरा फराकिलो बनाउन ताप्लेजुङमा जिल्ला तहमा समेत कोषखाता सञ्चालन हुने भएको छ । यसअघि आ–आफ्नै पालिकामा कोभिड–१९ बिरुद्धको कोष खडा गरेका यहाँका स्थानीय तहले अब जिल्ला तहमा खडा भएको कोषमा जनही २–२ लाख रुपैया जम्मा गर्ने सहमति गरेका छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले जिल्ला तहमा खडा हुने कोष सञ्चालनको मापदण्ड तयार गर्दै सबै स्थानीय तहलाई खातामा रकम जम्मा गरिदिन अनुरोध गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले जिल्ला समन्वय समितिको सभाका क्रममा यहाँका सबै स्थानीय तहहरुले जिल्ला तहमा समेत कोभिड–१९ बिरुद्धको खाता सञ्चालन गर्न उपयुक्त देखिएको भन्दै स्थानीय तहकातर्फबाट सो खातामा जनही २–२ लाख रुपैंया जम्मा गर्ने प्रतिबद्धता जनाए अनुसार आईतवार निर्णय भएको जानकारी दिनुभयो । प्रतिबद्धता अनुसार स्थानीय तहले जिल्ला तहमा गठित कोभिड–१९ बिरुद्धको कोषमा रकम जम्मा गरेमा कोषमा १८ लाख रुपैंया जम्मा हुने छ । यहाँ एक नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन् । जिल्ला तहको यो कोष कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिबाट सञ्चालन हुने छ । समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अब सबै पालिकाका नागरिकहरुको पीसीआर र आरडीटी परीक्षण,जिल्ला तहमा निर्माण भएको होल्डिङ सेन्टर तथा क्वारेन्टिन व्यवस्थापन सहितका कार्य अब यहिँ कोषमार्फत सञ्चालन हुने जानकारी दिनुभयो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक तथा जिसस प्रमुख मादेन र सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी निरौलाको संयुक्त दस्तखतबाट यो कोष खाता सञ्चालन हुने भएको छ । खाता व्यवस्थापन जिल्ला प्रशासन कार्यालयका लेखा प्रमुखले गर्ने भएका छन् । अहिले जिल्ला सदरमुकाममा रहेको होल्डिङ सेन्टर र क्वारेन्टिनमा भारतसहितका तेस्रो मुलुकबाट आएका नागरिक रहेका छन् । उनीहरुको पीसीआर परीक्षणका क्रममा स्वाब संकलन गर्न,परीक्षणका लागि पठाउन,होल्डिङ सेन्टर र क्वारेन्टिनमा रहेका नागरिकको व्यवस्थापन गर्न जिल्ला तहमा यो तहको कोष थिएन । परीक्षणको प्रकृया र होल्डिङ सेन्टर क्वारेन्टिन व्यवस्थापनका लागि खडा भएको कोष लाभदायी हुने प्रजिअ निरौलाले बिश्वास लिनुभयो । उहाँले यो प्रकृयाले पीसीआर तथा आरडीटी परीक्षणको दाहेरा निकै फराकिलो बन्ने दावी गर्नुभयो । यहाँका ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकाले ४ सय थान र अरु ८ वटा गाउँपालिकाले २–२ सय थान गरी जम्मा २ हजारथान स्वाब संकलन गर्ने भाईल स्टिक खरिद गरेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले दिएको १ हजार २ सय थान आरडीटी पनि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिसँग छ । खरिद गरिएका र प्राप्त भएका उपकरणमार्फत परीक्षणको दाहेरा ह्वात्तै बढाउने र होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन सहज बनाउन कोष लाभप्रद हुने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । कोष सञ्चालनमा आएपछि भारतसहित तेस्रो मुलुकबाट आएका प्रत्येक नागरिकलाई जिल्ला सदरमुकामको होल्डिङ सेन्टरमा केन्द्रिकृत गरी पीसीआर र आरडीटी परीक्षणको रिर्पोट नेगेटिभ आएपछि मात्रै सम्वन्धित पालिकामा पठाउने तयारी भईरहेको प्रजिअ निरौलाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts