|

ताप्लेजुङमा झण्डै २१ हजार जनाले कोरोना बिरुद्धको खोपको दोस्रो डोज लगाउन बाँकी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ८ । ताप्लेजुङमा झण्डै २१ हजार नागरिकले कोरोना बिरुद्धको दोस्रो मात्रा(डोज)लगाउन बाँकी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको बिबरण अनुसार १७ हजार ६ सय ६९ जनाले भेरोसिल र ३ हजार २ सय ६६ जनाले कोभिडशिल्ड÷एक्सट्राजेनेको खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार १७ हजार ४ सय ४८ जनाले कोभिडशिल्ड÷एक्सट्राजेनेका खोपको पहिलो मात्रा लगाएकोमा १४ हजार १ सय ८२ जनाले मात्र दोस्रो मात्रा पनि लगाएका छन् । यस्तै ३२ हजार ९ सय ३१ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएकामा १५ हजार २ सय ६२ जनाले मात्र भेरोसिल बिरुद्धको दोस्रो मात्रा लगाएका छन् । प्रशासन कार्यालयका अनुसार ५ हजार ८ सय २५ जनाले एकमात्रा(डोज)मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । यसो गर्दा ताप्लेजुङ भरीमा कूल ३५ हजार २ सय ६९ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् । पूर्ण खोप भन्नाले एक मात्रा(डोज)मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन र दुबै मात्रा लगाउनुपर्ने कोभिडशिल्ड÷एक्सट्राजेनेका र भेरोसिल खोप लगाएकाहरुलाइ जनाउँछ ।
४ हजार डोज फिर्ता पठाइयो
अनेक सूचना र प्रयास गर्दा पनि मानिसहरु खोप लगाउन नआएपछि ताप्लेजुङमा आएको ४ हजार डोज भेरोसिल खोप जिल्ला बाहिर पठाइएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले यहाँ प्रयोग नहुने र अन्य जिल्लाहरुमा माग अनुसार खोप नभएको अवस्थालाइ मध्यनजर गर्दै ४ हजार डोज भेरोसिल खोप अन्य जिल्लामा पठाइएको जानकारी दिनुभयो । पहिलो मात्रा लगाएकाहरुलाइ खोपको दोस्रो मात्रा सुनिश्चित गरी कम्तिमा १ हजार डोज अतिरिक्त खोप भण्डारण गरेर अरु अन्य जिल्लामा पठाइएको समेत उहाँले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts