सिदिङ्वाद्धारा पालिकाभरीका बिद्यालयलाई एक–एकथान ल्यापटप र प्रिन्टर प्रदान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १२ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक बिद्यालयहरुलाई एक–एकथान ल्यापटप र प्रिन्टर प्रदान गरेको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख बद्री सिटौलाका अनुसार करिव ४० लाख मूल्य बराबरको ३८ थान ल्यापटप र ३८ थान प्रिन्टर प्रदान गरिएको हो । दैनिक कार्य सञ्चालन,इमिस प्रणालीमा सहजीकरण,प्रश्नपत्र निर्माण,तथ्याङ्क प्रविष्टी सहितका बिषयमा सहजता ल्याउने उद्देश्यले बिद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गरिएको गाउँपालिकाका लेखा शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो । शिक्षा शाखा प्रमुख सिटौलाका अनुसार यसअघि माध्यमिक बिद्यालय र केहि आधारभूत बिद्यालयमा मात्र ल्यापटप,डेस्कटप र प्रिन्टर रहेकोमा कतिपय चालु अवस्थामा नरहेकोमा अब भने पालिका भरीका सबै सामुदायिक बिद्यालयहरुमा ल्यापटप र प्रिन्टर पुगेको छ । करिव ४८ लाख रुपैयाँको लागत अनुमानको सामाग्री बोलपत्रका माध्यमबाट ४० लाख रुपैयाँमा खरिद गरी बितरण गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले कक्षा ६–८ मा अतिरिक्त कक्षा सञ्चालन,अन्तरपुस्ता सीप हस्तान्तरण,स्थानीय रैथाने प्रजातिको अधिकतम् प्रयोग गर्ने सर्तमा दिवाखाजा अतिरिक्त रकम थप,बिद्यार्थी कल्याण कोष स्थापना सहितका कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसबाहेक पालिकाले न्यून दरबन्दी रहेका बिद्यालयहरुमा पालिकाको अनुदानमा शिक्षक दरबन्दी थप,वाल विकास केन्द्रका लागि अनुदान,खेल मैदान बिस्तार,मसलन्द सामाग्रीमा अनुदानराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी बापत अनुदानका कार्यक्रम समेत पालिकाले सञ्चालन गर्दै आइरहेको छ । पालिकाले शैक्षिक प्रोत्साहन कोषमार्फत मासिक उत्ृकष्ट शिक्षक छनौट तथा सम्मान,बिद्यालय र बिद्यार्थी सम्मान,भाषा शिक्षकको व्यवस्था,उच्च शिक्षामा दलित समुदायका बिद्यार्थीलाई छात्राबृत्ति,न्यानो कपडा बितरण,अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गर्दै आएको जनाएको छ ।