| |

पाँचौं बज्रगुरु मन्त्रजप पूजाको तयारी अन्तिम चरणमा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ३ । ताप्लेजुङमा नियमित आयोजना हुँदै आएको बज्रगुरु मन्त्र जप पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । यहाँका बौद्धमार्गीहरुले यसवर्ष पाँचौं पटक बज्रगुरु मन्त्र जप आयोजना गर्न लागेका र तयारी अन्तिम चरणमा पुगेको हो ।
पाँचौ ताप्लेजुङ बज्रगुरु मन्त्र जप मूल आयोजक समितिले सदरमुकाम फुङ्लिङमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बौद्धमार्गीहरुको महत्वपूर्ण पूजाका रुपमा रहेको बज्रगुरु मन्त्र जप यही चैत १० देखि १२ गते तीन दिनसम्म आयोजना गर्न लागिएको छ ।
आयोजक समितिका अध्यक्ष थुप्तेन जिग्ड्रोल (फुपुछेम्बे शर्पा) का अनुसार विश्व शान्ति तथा समस्त प्राणीहरुको हितार्थ साथै भौतिक सुख र मानव शान्तिको कामना गर्दै नियमित बज्रगुरु मन्त्र जप पुजा आयोजना गर्ने गरिएको हो । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका थुप्तेन जिग्ड्रोलले भौतिक सुख तथा आध्यात्मिक चिन्तनका माध्यममार्फत मनमा शान्ति मिल्ने बताउनुभयो ।
यस्तै देशको शान्ति र समृद्धिमा सहयोग पुग्ने अपेक्षासहित बज्रगुरु मन्त्र जप आयोजना गर्न लागेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार बौद्धमार्गीहरुको पूजा कार्यक्रमजस्तो देखिए पनि बज्रगुरु मन्त्र जपमा सबै धार्मिक आस्थाका नागरिकले सहभागिता जनाउँदै आएका छन् । उहाँले मन्त्र जप पूजा धार्मिक सद्भावको आकर्षणको केन्द्र नै बन्दै गएको दावी पनि गर्नुभयो । मानिसलाई नैतिकवान् बनाउने र दया, माया र करुणा भाव प्रदर्शन गर्ने नै सबै धर्ममाथिको उद्देश्य रहने भएकाले मन्त्र जपमा भक्तजनको आकर्षण हुने गरेको उहाँको भनाइ छ ।
यसवर्षको मन्त्र जपमा प्रमुख लामाका रुपमा दिल्गो खेन्चे याङसी रिन्पोछेको उपस्थिति रहने आयोजक समितिका सदस्यसचिव पासाङरिता शेर्पाले जानकारी दिनुभयो । विगतमा झैं यसवर्ष पनि तीन दिने बज्रगुरु मन्त्र जप पूजामा न्युनतम् ३० देखि ५० हजार भक्तजनले सहभागिता जनाउने अपेक्षा राखिएको शेर्पाले बताउनुभयो ।
ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुमलगायत जिल्लाका भक्तजनको मन्त्र जपमा सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार भारतको सिक्किम र दार्जिलिङबाट समेत भक्तजनहरु मन्त्र जपमा सहभागी हुने छन् । मन्त्र जप पूजा सदरमुकाम नजिककै पर्यटकीयस्थल सुकेटारमा आयोजना गरिने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts