| |

बीओपी भवन निर्माण अन्तिम चरणमा

अरुलाई पनि शेयर गरौ !

टीका यक्सो
ताप्लेजुङ, भदौ १४ ।
ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलाको मौवाटारमा बीओपीको कार्यालय सहितका संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको मौवाटारमा सशस्त्र प्रहरी बलको बीओपी रहनेगरी गतवर्ष स्थापना गरिएको हो । बीओपी रहने मौवाटारमा हिमालयन कन्स्ट्रक्सन ताप्लेजुङले अहिले कार्यालय भवन लगायतका संरचना निर्माण गर्दै आएको छ । गत जेठ दोस्रो साता भ्याटसहित करिव ९८ लाख रुपियाँ बजेटमा योजना सम्झौता गरी संचरनाहरु निर्माण गर्दै आएको निर्माण कम्पनीले जनाएको छ ।
आगामी असोज मसान्तभित्र काम सम्पन्न गर्नेगरी योजना सम्झौता गरेर काम सुरु गरेको र हाल अन्तिम चरणमा पुगेको निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनका प्रोपाइटर इन्द्र केदेमले जानकारी दिनुभयो । केदेमका अनुसार सभाहल सहितको कार्यालय भवन, भान्सा घर र शौचालयजस्ता संरचना निर्माण गरिएको छ । सबै संरचना निर्माणको कार्य करिव ९५ प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो ।

ओलाङ्चुङगोलाको मौवाटारमा निर्माणाधीन बीओपीको कार्यालय संरचना ।

उक्त बीओपी स्थापना गरिएको ठाउँ मौवाटार चार हजार २०० मिटरको उचाइमा पर्दछ । मौवाटार ओलाङ्चुङगोला बस्तीदेखि १२ किलोमिटर दूरीमा उत्तरतर्फ पर्दछ भने त्यहाँदेखि तिब्बतसँग सिमाना टिपताला भञ्ज्याङ (पाँच हजार २०० मिटर उचाइ) पनि करिव १२ किमीकै दूरीमा पर्दछ । संरचना बनिनसकेकाले बीओपीका लागि खटेका सशस्त्र प्रहरी टोली भने हाल ओलाङ्चुङगोलामा बस्दै आएका छन् ।
यहाँ स्थापित बीओपीको गतवर्ष असोज महिनामा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्नुभएको थियो । बीओपी रहने स्थलको गृह मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतले निरीक्षण समेत गर्नुभएको थियो । दुई देशको सीमा क्षेत्रमा स्थापना गरिएको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५० जना जनशक्ति रहने बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts