कोरोना कहरबीच पाथीभरामा दर्शनार्थीको भीड
-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ८ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा कोरोना कहरबीच दर्शनार्थीको भीड लागेको छ । चैते दसैँ तथा रामनवमीको असवरमा पाथीभरा देवीको दर्शन गर्ने भक्तजनको भीड लागेको हो ।
कोरोना भाइरसको महामारीले हाल विश्व आक्रान्त भइरहेको बेला साथै नेपालमा पनि तीब्र रुपमा सङ्क्रमण फैलिरहेको समयमा पाथीभरामा भने भक्तजनको भीडभाड बढेको छ । गत चैतको अन्तिम सातायता पाथीभरामा भक्तजनको उपस्थिति ह्वात्तै बढेको पाएको छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्ध्दन समितिका कर्मचारी नवीन निरौलाका अनुसार चैत २६ गतेयता बुधबार सम्ममा साढ २७ हजार भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।
चैते दसैँको समयमा मात्र गत चैत ३१ गते प्रतिपदादेखि बैशाख ८ गते रामनवमीको दिन सम्ममा २२ हजार १६४ जना भक्तजनले पाथीभराको दर्शन गरेका निरौलाले जानकारी दिनुभयो । उहाँकाअनुसार यसअवघिमा सबैभन्दा बढी चैते दसैँको दिन मङ्गलबार एकैदिन आठ हजार ५५ जना दर्शनार्थीले देवीको दर्शन गरेका छन् ।
गएको सोमबार एक हजार ४०८ जना, आइतबार ९१३ जना र शनिबार चार हजार ३५८ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । त्यस्तै चैत महिनाको अन्तिम शनिबार दुई हजार ९४४ जना भक्तजनले दर्शन गरेका थिए । देवीको दर्शन गर्नलाई ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाबाट भक्तजन आइरहेका छन् ।
पाथीभरा देवीको दर्शन गर्ने मुख्य सिजन दसैँ तिहारको समयलाई मानिन्छ भने चैते दसैँ रामनवमीको समयलाई दोस्रो सिजन मानिन्छ । उक्त समयमा पाथीभराको दर्शन गरे मानोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको छ । सोही विश्वास रहेका कारण नेपालसहित भारतको सिक्किम, आसाम, पश्चिम बंगाल, दार्जिलिङ लगायतका ठाउँबाट तीर्थयात्रीहरु पाथीभराको दर्शनमा आउने गरेका पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क रहेको छ ।
यता पाथीभराको दर्शनमा आउने तीर्थयात्रीको उपस्थिति बढेपछि पाथीभरा क्षेत्रको फेदीबजार, काफ्लेपाटी र सदरमुकाम फुङ्लिङ बजारमा मानिसको चहलपहल पनि बढेको छ । यस्तै पाथीभरा क्षेत्र फुङ्लिङ बजारका होटलहरु तीर्थयात्रीले खचाखत भएका व्यवसायीले बताएका छन् । फुङ्लिङस्थित मेवाखोला हिल रिसोर्टका प्रोपाइटर तथा पर्यटन व्यवसायी सुरेश लिम्बूको संयोजनमा मङ्गलबारदेखि तीर्थयात्रीका लागि हेलिकप्टर सुविधा पनि उपलब्ध गराइएको छ । हेलिकप्टर सुविधा उपभोग गर्ने दर्शनार्थीले सदरमुकामदेखि पाथीभरा सम्मको भाडा प्रतिव्यक्ति १२ हजार रुपियाँ तिर्नुपर्ने पर्यटन व्यवसायी लिम्बूले जानकारी दिनुभयो ।