मैवाखोलामा अघि बढ्यो ‘अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’,स्वास्थ्य बीमाको प्रिमियम पालिकाले तिरिदिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ८ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाका विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गरिदिने कार्यक्रमलाई अघि बढाएको छ ।
मैवाखोला गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’मार्फत तत्कालका लागि ४ वर्गका नागरिकको स्वास्थ्य बीमा वापतको प्रिमियम भुक्तानी गर्नेगरी कार्यक्रम अघि बढाएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार विपन्न नागरिक वा विपन्न परिवार,स्वास्थ्य बीमा ऐन तथा नियमावलीबाट पूर्ण रुपमा नसमेटिएका अपाङ्गता भएका व्यक्ति,गाउँपालिका भित्रका भूमिहिन दलित,भूमिहिन सुकुम्बासी,तथा भूमिहिन विपन्न नागरिक र एकल महिलाको स्वास्थ्य बीमा वापतको प्रिमियम शुल्क पालिकाले तिरिदिने गरी कार्यक्रम अघि बढाएको हो ।
पालिकाले स्वास्थ्य बीमा ऐन २०७४ तथा स्वास्थ्य बीमा नियमावली २०७५ बमोजिम नेपाल सरकार,प्रदेश सरकार वा अन्य निकायबाट सत प्रतिशत प्रिमियम व्यहोर्ने सुविधा प्राप्त गरिरहेका व्यक्ति वा परिवारलाई पालिकाले दोहोरो रुपमा प्रिमियम रकम भुक्तानी नगर्ने भने प्रष्ट पारेको छ । पालिकाले लाभग्राहीहरुलाई मंसिर १८ गते भित्र पालिकामा आवश्यक कागजातसहित निबेदन दिन समेत आग्रह गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम अघि बढेपछि पालिका अध्यक्ष विजयप्रकाश वनेमले‘हामी तिरिदिन्छौं पालिकाका नागरिकको स्वास्थ्य बीमाको प्रिमियम’भन्ने प्रतिक्रियासहित नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने शिक्षा र स्वास्थ्यमा राज्य वा सरकार केन्द्रित हुनुपर्ने मान्यतामा आफु रहेको बताउनु भएको छ । पालिका अध्यक्ष वनेमले भौतिक पूर्वाधार विकास पनि क्रमशःगर्दै लैजाने र नागरिकको जीवनमा बहुआयामिक परिवर्तन ल्याउने कार्यक्रम समेत सुरु गरिएको जानकारी दिनुभयो । यो कार्यक्रमले स्वास्थ्य उपचारमा १ लाख रुपैयाँसम्म तिर्न नसक्ने नागरिकको जीवनमा ठूलो योगदान पुग्ने पालिका अध्यक्ष वनेमले बताउनु भएको छ ।