ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीको बैठक,विपद् व्यवस्थापन तथा अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २७ । ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिच शुक्रवार सम्पन्न जिल्ला सुरक्षा समन्वय बैठकले लागु औषध नियन्त्रण,विपद् व्यवस्थापन र अपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्ने निश्कर्षका साथ सकिएको छ ।

शुक्रवार फुङलिङमा सम्पन्न बैठकले लागु औषध,अवैध चोरी निकासी लगायत सबै प्रकृतिका अपराधिक गतिविधि नियन्त्रण गर्न दुबै जिल्लाबिच आपसी समन्वय र सहकार्य गर्ने निर्णय लिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिनुभयो । बैठकले विपद्को समयमा सीमावर्ती पालिका तथा समग्र जिल्ला स्तरमा सूचना र समन्वयका आधारमा उपलब्ध जनशक्ति तथा अन्य स्रोत साधनको प्रयोग गरी विपद् प्रतिकार्य सम्वन्धी कार्य गर्ने सहमति समेत कायम गरेको छ ।

बैठकमा चीनसंगको सीमा क्षेत्रको नाका प्रयोग गरी हुन सक्ने सम्भावित अवाञ्छित क्रियाकलापका बारेमा दुबै जिल्लाले सूचना आदान–प्रदान तथा समन्वय गर्ने,जिल्ला प्रवेश हुने सीमानाका क्षेत्रहरुमा आपसी समन्वय गरी अपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्नसूचना आदान–प्रदान गर्ने सहमति समेत भएको छ । ताप्लेजुङ र संखुवासभा दुबै जिल्लाको सीमा जोडिएको छ भने दुबै जिल्ला मित्र राष्ट्र चीनसंग सीमा जोडिएका छन् । बैठकमा ताप्लेजुङ र संखुवासभाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्थित सुरक्षा अधिकारी सहभागी हुनुहुन्थ्यो ।

Similar Posts